बरहथवा (सर्लाही): सर्लाहीको हरिपुर्वा नगरपालिका–९ की १८ वर्षीया सिमा खातुन कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन्। श्री केश्वरगरिब जनता माध्यमिक विद्यालय (हरिपुर्वा–५) मा अध्ययन गरिरहेकी सिमा पछिल्लो समय बालविवाहजस्ता सामाजिक कुरीतिविरुद्धको अभियानमा सक्रिय छिन्।
बागमती सेवा समाजको सहकार्यमा उनले बालविवाह र दाइजो प्रथाको अन्त्यका लागि काम गर्दै आएकी छिन्। सिमाको भनाइमा, “तराई–मधेसमा गहिरो रुपमा जरो गाडेको बालविवाह र दाइजो प्रथा विरुद्ध लड्न थालेपछि थुप्रै सामाजिक यथार्थ बुझ्ने मौका पाएँ।”
सामाजिक दबाब र कठिनाइ
मुस्लिम समुदायमा हुर्किएकी सिमाले महिला अधिकारका कुरा उठाउँदा पनि कठिनाइ भोग्नुपरेको बताउँछिन्। “छोरी धेरै जन्मिएपछि अभिभावकहरू विवाह खर्चको चिन्ताले बाल्यकालमै बिहे गरिदिन्छन्,” उनले भनिन्।
बाल क्लबमार्फत गाउँमा चेतनामूलक कार्यक्रम, सडक नाटक र ¥यालीजस्ता अभियान सञ्चालन भइरहेको उनले जानकारी दिइन्। उनले भनिन्, “एकपटक विवाह रोक्न गएका थियौं, तर जनप्रतिनिधिले हामीलाई नै धम्क्याए।”
कानुनको कार्यान्वयनमा कमजोरी
हरिपुर्वा–२ की किशोरी रीता चौधरीका अनुसार कानुनमा बालविवाह अपराध भए पनि कार्यान्वयन कमजोर छ। “विवाह रोक्न खोज्दा हामीमाथि उल्टै दवाब र धम्की आउँछ,” उनले भनिन्।
त्यस्तै अर्की किशोरी कुमारी साहले प्रहरीलाई दिएको सूचना लीक हुँदा आफू समस्यामा परेको बताइन्। “प्रहरीलाई खबर गरेपछि केटी पक्षले हामीलाई नै दोष दियो,” उनले दुखेसो पोखिन्।
सामाजिक मान्यता र दबाब
चन्द्रनगर गाउँपालिका–५ का अभिभावक रामबाबु चौधरीका अनुसार छोरीको ‘इज्जत’ जोगाउने नाममा बालविवाह गराउने प्रवृत्ति अझै हट्न सकेको छैन। “छोरी भागे सामाजिक इज्जत जान्छ भन्ने डरले अभिभावकहरू विवाह गराइदिन्छन्,” उनले बताए।
बाल क्लबको सक्रियता र चुनौती
हरिपुर्वा नगरपालिकामा १२ वटा र पर्सा गाउँपालिकामा ७ वटा बाल क्लब सञ्जालमार्फत ३७८ किशोरकिशोरी आबद्ध छन्। ती क्लबहरूले बालविवाह, दाइजो प्रथा लगायतका कुरीति विरुद्ध अभियान सञ्चालन गरिरहेका छन्।
बागमती सेवा समाजका कार्यक्रम संयोजक प्रमेश बादेका अनुसार वल्ड भिजनको सहयोगमा दुई पालिकामा बाल विकासका विविध कार्यक्रम सञ्चालित छन्। यसबाट सामाजिक चेतना अभिवृद्धि भएको उनले बताए।
भारत लगेर विवाह गर्ने प्रवृत्ति
बाल क्लबका कारण गाउँमै खुल्ला रूपमा विवाह गर्न नसकिएपछि भारत लगेर विवाह गराउने प्रवृत्ति बढेको हरिपुर्वा–४ का दिनेश राय बताउँछन्। “हामीले उजुरी गर्दा जनप्रतिनिधिले उल्टै धम्क्याउँछन्, वडा कार्यालयले हाम्रो कामसमेत रोकेको छ,” उनले आरोप लगाए।
स्थानीय तहको भनाइ
हरिपुर्वा नगरपालिकाका प्रमुख विनोद साह तेलीले बालविवाह र दाइजो जस्ता कुसंस्कार विरुद्ध पालिकाले गैरसरकारी संस्थासँग सहकार्य गरिरहेको बताए। “जनप्रतिनिधि स्वयं यस्ता कुरीतिलाई प्रोत्साहन गर्नु गैरकानुनी हो,” उनले भने, “सबै तहको समन्वयमा मात्रै यस्ता अभ्यास रोक्न सकिन्छ।”
नागरिक समाज र मानव अधिकारकर्मीको दृष्टिकोण
नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीका अनुसार सामाजिक मान्यताले गर्दा कुरीति नियन्त्रणमा चुनौती देखिएको छ। मानव अधिकार आयोग सर्लाहीका अध्यक्ष रजनिकान्त झाले किशोरकिशोरीहरू स्वयम् यस्ता अभियानमा सक्रिय हुनु सुखद विकास भएको बताए।
“राजनीतिक दल, जनप्रतिनिधि र सुरक्षा निकायले किशोरकिशोरीको प्रयासलाई प्रोत्साहित गर्नुपर्छ,” झाले भने, “उनीहरूको प्रयास समाज परिवर्तनको आधार हो।”
तथ्याङ्क
राष्ट्रिय जनगणना २०७८ अनुसार सर्लाही जिल्लामा कुल विवाहमध्ये ३७.२ प्रतिशत २० वर्षभन्दा कम उमेरमा हुने गरेका छन्। यो तथ्यांकले बालविवाह अझै गम्भीर समस्या रहेको स्पष्ट पार्दछ।