वीरगन्ज । बारामा नेपाल प्रहरीका एक अधिकृतको साथबाट सरकारी पेस्तोल हराएको घटनाले मधेस प्रदेश प्रहरीमा तरङ्ग पैदा गरेको छ। इलाका प्रहरी कार्यालय कबहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) ले बोकेको ९ एमएमको सरकारी पेस्तोल रहस्यमय रूपमा हराएपछि घटनाको अनुसन्धान तीव्र पारिएको हो।
इलाका प्रहरी कार्यालय कबहीका प्रमुखसमेत रहेका सई सोनुकुमार मिश्रको साथबाट हतियार हराएको जानकारी सार्वजनिक हुनासाथ मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले उक्त कार्यालयमा कार्यरत सईदेखि कार्यालय सहयोगीसम्मका १२ जना प्रहरी कर्मचारीलाई प्रदेश कार्यालयमा तानेको छ। घटनाको छानबिन तथा सोधपुछका लागि उनीहरूलाई जनकपुर बोलाइएको र कबहीमा भने वैकल्पिक प्रहरी टोली खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
घटना गत पुस ११ गतेको हो। सई मिश्रको साथबाट पेस्तोल हराएको जानकारी पाएलगत्तै मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले एसपी भेषराज रिजालको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गर्नुभएको थियो। पुस १५ गते गठन भएको समितिले घटनास्थलको प्रारम्भिक अध्ययन सकेपछि थप अनुसन्धानका लागि त्यहाँ कार्यरत सम्पूर्ण प्रहरीलाई शुक्रबार जनकपुर झिकाएको हो।
प्रारम्भिक बयानमा सई मिश्रले रातिको गस्तीका क्रममा पेस्तोल हराएको बताएका छन्। तर, ब्यारेकबाटै हतियार हराएको भन्ने अर्को बयानसमेत दिएका कारण घटनाको विवरण अस्पष्ट र शंकास्पद देखिएको छानबिन समितिको भनाइ छ। समितिका संयोजक एसपी रिजालका अनुसार सबै प्रहरी कर्मचारीलाई अलग–अलग राखी सोधपुछ तथा अनुसन्धान सुरु गरिएको छ।
एसपी रिजालले भन्नुभयो, “घटनाका बेला इलाका प्रहरी कार्यालयमा रहेका सबै प्रहरी कर्मचारीलाई प्रदेश प्रहरी कार्यालयमा बोलाएर छुट्टाछुट्टै रूपमा अनुसन्धान अघि बढाइएको छ। दोषी देखिएका जो–कसैलाई कानुनबमोजिम कडा कारबाही गरिनेछ।”
यसैबीच, प्रहरी स्रोतले ड्युटीका क्रममा तस्कर समूहले प्रहरीको हतियार खोसेर लगेको हुन सक्ने आशङ्का पनि व्यक्त गरेको छ। सीमा क्षेत्रमा तस्करीका गतिविधि सक्रिय रहने भएकाले लुटपाटको सम्भावनालाई समेत ध्यानमा राखी अनुसन्धान भइरहेको छ। यद्यपि, प्रदेश प्रहरीले यस विषयमा आधिकारिक पुष्टि गरेको छैन।
सरकारी हतियार नै सुरक्षित नहुनुले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको भन्दै घटनामा संलग्न जो–कसैलाई पनि विभागीय तथा कानुनी कारबाही गरिने तयारी प्रहरी प्रशासनले गरेको छ।


