Wednesday, August 12, 2026
Homeअन्तराष्ट्रियबाब अल–मन्देबमा हुथीको मिसाइल आक्रमण, तीन चालक दलका सदस्यको मृत्यु

बाब अल–मन्देबमा हुथीको मिसाइल आक्रमण, तीन चालक दलका सदस्यको मृत्यु

काठमाडौँ । यमनका हुथी विद्रोहीले व्यापारिक जहाजलाई लक्षित गरी गरेको मिसाइल आक्रमणमा तीन जना चालक दलका सदस्यको मृत्यु भएको छ। मृतकमध्ये दुई जना पाकिस्तानी र एक जना इन्डोनेसियाली नागरिक रहेको बताइएको छ।

आक्रमण रातो सागरलाई एडनको खाडी र हिन्द महासागरसँग जोड्ने रणनीतिक महत्त्वपूर्ण बाब अल–मन्देब जलडमरूमध्य नजिक भएको हो। विभिन्न प्रतिवेदनअनुसार हुथीहरूले जहाजलाई निशाना बनाउन जहाजविरोधी ब्यालिस्टिक मिसाइल प्रयोग गरेका थिए।

हुथीहरूले साउदी अरबसँग सम्बन्धित जहाजविरुद्ध समुद्री नाकाबन्दी घोषणा गरेलगत्तै उक्त आक्रमण भएको बताइएको छ। पछिल्ला दिनहरूमा साउदीसँग जोडिएका तेल ट्याङ्कर तथा अन्य व्यापारिक जहाजहरू हुथी आक्रमणको निशानामा पर्दै आएका छन्।

विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक मानिने बाब अल–मन्देब रातो सागर र एडनको खाडीबीचको प्रमुख समुद्री चोकपोइन्ट हो। हुथीहरूको निरन्तर आक्रमण र सुरक्षा जोखिमका कारण यस मार्गमा पानीजहाजको आवागमन उल्लेख्य रूपमा घटेको छ।

उपलब्ध सिपिङ तथ्याङ्कअनुसार अगस्ट ६ मा बाब अल–मन्देब भएर एक मात्र जहाज गुज्रिएको थियो। त्यसको अघिल्लो दिन भने उक्त जलडमरूमध्यबाट २० वटा जहाज पार भएका थिए।

यमनका हुथी र साउदी अरबबीच तनाव बढिरहेका बेला पछिल्लो आक्रमण भएको हो। हुथीहरूले हालै साउदी तेल ट्याङ्कर तथा जाजानस्थित साउदी अरामकोको पूर्वाधारलाई समेत निशाना बनाएको दाबी गरेका थिए। साउदी अधिकारीहरूले जाजानस्थित अरामकोको एउटा संयन्त्रमा आगलागी भएको पुष्टि गरे पनि मानवीय क्षति नभएको बताएका थिए।

पछिल्लो आक्रमणमा तीन जनाको मृत्यु भएको विवरण सार्वजनिक भए पनि हुथी समूहले भने घटनाबारे तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

बाब अल–मन्देब क्षेत्रमा बढ्दै गएको सुरक्षा जोखिमले व्यापारिक जलपोतको सुरक्षासँगै विश्वव्यापी आपूर्ति तथा समुद्री व्यापार मार्गमा समेत चिन्ता बढाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका