काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकालाई सम्झिँदै विपद्को पीडामा रहेका नानी–बाबुप्रति भावुक सन्देश व्यक्त गरेका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले जन्माष्टमीका दिन अधिकांश बालबालिका राधा–कृष्णको भेषमा सजिएर रमाइरहँदा बाढी प्रभावित क्षेत्रका बालबालिका भने गहिरो पीडामा रहेको उल्लेख गरेका छन्।
‘आज श्रीकृष्ण जन्माष्टमी। स–साना नानी–बाबुहरू राधा–कृष्णको रूपमा सिँगारिएर मखन खाने र रमाउने दिन हो,’ उनले लेखेका छन्, ‘तर यसपालिको यो उत्सवमा रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रका नानी–बाबुहरू त्यसरी खुशी हुन सक्नुभएन। उहाँहरू गहिरो पीडामा हुनुहुन्छ।’
बाढीका कारण कतिपय बालबालिकाका आँखाले आफ्ना बाबुआमा र आफन्त खोजिरहेको हुनसक्ने भन्दै प्रधानमन्त्री शाहले प्रभावित बालबालिकाको अवस्थाप्रति संवेदनशील बन्न आग्रह गरेका छन्।
उनले बाढीपछि गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धासँगै बालबालिकालाई समेत उद्धारमा प्राथमिकता दिइएको बताएका छन्। प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका होल्डिङ सेन्टरमा बालबालिका बसिरहेको र उनीहरूको सुरक्षित तथा सहज बसोबासका लागि सरकारले काम गरिरहेको उनको भनाइ छ।
‘हामी चाँडै नै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्नेछौँ। पुनः यहाँहरूलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गरिदिनेछौँ,’ उनले भनेका छन्।
प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विपद्को जोखिम बढिरहेको उल्लेख गर्दै नेपालले भोगिरहेको विपद् र जोखिमबारे विश्व समुदायलाई निरन्तर जानकारी गराउनुपर्ने बताएका छन्।
उनले बालबालिकालाई विपद् पूर्वतयारीमा सहभागी हुन आग्रह गर्दै घरमा ‘विपद् झोला’ तयार राख्न, सानैदेखि बचत गर्ने बानी बसाल्न तथा जलवायु परिवर्तनबारे अध्ययन र छलफल गर्न सुझाव दिएका छन्।
दैनिक एक रुपैयाँ बचत गर्दा एक वर्षमा नेपालभर कति रकम जम्मा होला भन्ने हिसाब बालबालिकालाई आफैँ गर्नसमेत उनले आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहका अनुसार विपद्का बेला हालसम्म १३ हजार ९५ जनाको उद्धार भइसकेको छ। उद्धार कार्यमा ज्यानको पर्वाह नगरी खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत विज्ञ टोलीलाई उनले धन्यवाद दिएका छन्।
विदेशमा रहेका नेपाली, मित्रराष्ट्र तथा विकास साझेदार संस्थाले विपद्का बेला गरेको सहयोगप्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन्।
‘विपद्को भाषा विनाश र दुःख हो, तर यस्तो संकटका बेला हामीले एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ,’ उनले लेखेका छन्।
श्रीकृष्णको शिक्षालाई स्मरण गर्दै प्रधानमन्त्री शाहले संघर्ष र विपद्का समयमा निराश भएर बस्न नहुने बताएका छन्।
‘धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्छ। हामी रोकिँदैनौँ,’ उनले भनेका छन्।
प्रधानमन्त्री शाहले सबै मिलेर विपद्को सामना गर्दै सुरक्षित र उज्यालो नेपालको निर्माणमा जुट्न आह्वान गरेका छन्।
यस्ताे छ प्रधानमन्त्रीकाे स्ट्याटस
हाम्रा प्यारा नानी–बाबुहरू,
आज श्रीकृष्ण जन्माष्टमी। स–साना नानी–बाबुहरू राधा–कृष्णको रूपमा सिँगारिएर मखन खाने र रमाउने दिन हो। हातमा बाँसुरी लिएर नानी–बाबुहरू रमाइरहनुभएका तस्बीरहरू सामाजिक सञ्जालमा साझा भइरहेका होलान्।
तर, यसपालिको यो उत्सवमा रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रका नानी–बाबुहरू त्यसरी खुशी हुन सक्नुभएन। उहाँहरू गहिरो पीडामा हुनुहुन्छ। कतिपयले यो पीडा व्यक्त गरिरहनुभएको छ भने कतिपय स्तब्ध हुनुहुन्छ।
अचानक के–के भयो, कतिले त सोच्न समेत भ्याउनुभएको छैन होला। उहाँहरूका आँखाले आफ्ना बाबुआमा र आफन्त खोजिरहेका होलान्। कतिपय बाबु–नानीहरूले विपद्को १० औं दिनसम्म आइपुग्दा हाम्रो प्यारो देश नेपालले अहिले ठूलो विपद् भोग्नुपरेको छ भन्ने थाहा पाइसक्नुभएको होला।
साँच्चै, आज देश दुःखी भएको छ। कति साथीहरू छुटिनुभयो। कति घर र बस्तीहरू खण्डहर बनेका छन्। खेल्ने–कुद्ने चौरहरू पुरिएका छन्। यहाँहरूको आफ्नै ठाउँ आज बिरानो जस्तै बनेको होला।
प्यारा नानी–बाबुहरू,
बाढी गएलगत्तै हामीले प्रभावित क्षेत्रबाट गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्तिहरू र वृद्धवृद्धासँगै यहाँहरूलाई पनि उद्धारमा पहिलो प्राथमिकता दिएका थियौँ। अहिले पनि त्यो क्रम जारी छ।
हामीले प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेका होल्डिङ सेन्टरमा यहाँहरू बसिरहनुभएको छ। हामीलाई थाहा छ—यहाँहरूका लागि यो बसाइ सहज छैन। तर, हामी चाँडै नै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्नेछौँ। पुनः यहाँहरूलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गरिदिनेछौँ।
यहाँहरू त भोलिका उज्याला झुल्काहरू हुनुहुन्छ। यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौं। जतिसक्छौं हामी खटिरहेका छौं। त्यसमा यहाँहरूको पनि साथ मिल्ने नै छ।
विपद् फेरि पनि आउला। जलवायु परिवर्तनको ठूलो असर हाम्रो हिमालय क्षेत्रमा परिसकेको छ। हामीमाथि परेको विपद्को यो बज्रपातबारे सारा संसारले थाहा पाइसकेको होला। तर पनि हामीले भोग्न थालेको पीडा र विपद् जोखिमबारे विश्व समुदायलाई निरन्तर जानकारी गराउनुपर्छ र उनीहरूलाई पनि यस्ता जोखिम घटाउन जिम्मेवार बनाउनुपर्छ।
हामी हिमाली देशका बासिन्दा हौं। त्यसैले सधैँ सजग रहनुपर्छ। प्रभावित क्षेत्रका नानी–बाबुहरूले प्रत्यक्ष विपद् भोग्नुभयो। अन्य क्षेत्रका नानी–बाबुहरू पनि उत्तिकै सतर्क रहनुहोला। यहाँहरूले आफ्नो सुनौलो भोलिका लागि आजैदेखि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिक्नुपर्छ।
पूर्वतयारीका लागि यी कुरामा ध्यान दिनुहोलाः
१. विपद् झोलाः आफ्नो घरमा सजिलै सबैले भेट्न सक्ने ठाउँमा एउटा ‘विपद् झोला’ राख्न सुरु गर्नुहोस्। यस्तो झोलामा विपद्का बेला अति आवश्यक पर्ने हलुका र साना वस्तुहरू (जस्तैः घाउचोट बाँध्ने पट्टी, आवश्यक औषधि, पानी, सुक्खा खानेकुरा, केही नगद पैसा आदि) राख्नुहोला।
२. ससानो बचतः भोलि आउन सक्ने विपद्का लागि आजैदेखि बचत गर्न सिक्नुहोस्। दैनिकरुपमा १ रुपैयाँ मात्र जम्मा ग¥यौँ भने पनि नेपालभरि एक वर्षमा कति रकम जम्मा होला? यहाँहरु नै आफै हिसाब गर्नुहोस् त?
३. अध्ययन र छलफलः जलवायु परिवर्तन भनेको के हो र यसले हामीलाई के असर पारिरहेका छ भन्नेबारे अध्ययन सुरु गर्नुहोस्। एकआपसमा यस्ता विषयमा छलफल गर्नुहोस् र जनचेतना फैलाउने काममा अगाडि बढ्नुहोस्।
यी त केही सुरुआती कामहरू भए, जुन यहाँहरू आफैँले गर्न सक्नुहुन्छ।
प्यारा नानी–बाबुहरू,
केही बेर अघिसम्म विपद्मा पर्नुभएका १३ हजार ९५ जना आमा–बाबु, दाजु–भाइ, दिदी–बहिनीहरूको उद्धार भइसकेको छ।
यो उद्धारमा आफ्नो ज्यानको परबाह नगरी अहोरात्र खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल लगायत अन्य विज्ञ टोलीलाई हामी सबैले हृदयदेखि नै धन्यवाद भन्नुपर्छ।
यस विपद्को समयमा विदेशमा बस्नुहुने नेपालीहरू, मित्र राष्ट्रहरू र विकास साझेदार संस्थाहरूले पनि ठूलो सहयोग गर्नुभएको छ। उहाँहरूप्रति पनि हामी कृतज्ञ रहनुपर्छ।
विपद्को भाषा विनाश र दुःख हो, तर यस्तो संकटका बेला हामीले एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ।
श्रीकृष्णले पनि भन्नुभएको छ– संघर्ष र विपद्को समयमा हार मानेर वा निराश भएर बस्ने होइन। धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्छ। हामी रोकिदैनौं।
आउनुहोस्, हामी सबै मिलेर यो विपद्को सामना गरौँ र सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुटौँ।
धेरै माया..


