नुवाकोट । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावित नागरिकको अवस्था, अस्थायी तथा स्थायी पुनःस्थापना र दीर्घकालीन व्यवस्थापनका विषयमा स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेकी छन्।
बिहीबार नुवाकोट पुगेकी मन्त्री रावलले विदुर र बेलकोटगढी नगरपालिकाका बाढी प्रभावित नागरिकको अवस्था, होल्डिङ सेन्टरमा रहेका नागरिकको व्यवस्थापन, अस्थायी तथा स्थायी पुनःस्थापना र भूमिहीनको दीर्घकालीन व्यवस्थापनलगायत विषयमा जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी हुन्।
छलफलका क्रममा मन्त्री रावलले बाढी प्रभावित परिवारको दीर्घकालीन व्यवस्थापन तथा पुनःस्थापनाका लागि संघीय सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाइन्।
उनले तत्कालीन राहतसँगै प्रभावित परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्दै दीर्घकालीन पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम गर्ने बताइन्।
मन्त्री रावलले होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूको विवरण यथाशीघ्र उपलब्ध गराउन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रहसमेत गरिन्। प्रभावित नागरिकको वास्तविक अवस्था पहिचान गरी आवश्यक राहत, पुनःस्थापना तथा दीर्घकालीन व्यवस्थापनका लागि समन्वयात्मक रूपमा अघि बढ्नुपर्नेमा उनले जोड दिइन्।


