काठमाडौं । बाढीले घर बगायो, आश्रय खोस्यो र वर्षौँदेखि जोडिएको संसार एकै निमेषमा उजाड बनाइदियो। त्यही विनाशकारी बाढीमा घरमालिकसमेत बेपत्ता भए। तर, घर र मालिक दुवै गुमाएको एउटा अबोध कुकुर भने अझै आफ्नो ठाउँ छाड्न तयार छैन।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा देखिएको यो दृश्यले विपद्को पीडालाई थप मार्मिक बनाएको छ। जहाँ घर थियो, अहिले त्यहाँ भग्नावशेष मात्र बाँकी छ। वरपर केही छैन। तर कुकुर भने निराश मुद्रामा त्यही ठाउँमा बसिरहेको छ—सायद आफ्नो मालिक फर्केर आउँछन् कि भन्ने आशामा।
बाढीले मानिसका घर, सम्पत्ति र परिवार मात्र बगाएको छैन, घरपालुवा जनावरको सुरक्षित संसारसमेत उजाड बनाएको छ। मानिसका लागि घर एउटा भौतिक संरचना भए पनि यस्ता अबोध प्राणीका लागि त्यही घर र त्यहाँ बस्ने मानिस नै सम्पूर्ण संसार हुने गर्छ।
मालिकसँगको आत्मीयता र अपनत्वका कारण कुकुरले आफ्नो घर र मानिसलाई सजिलै बिर्सन सक्दैन। त्यसैले सबैथोक गुमिसक्दा पनि ऊ त्यही ठाउँमा बसेर आफ्नो मालिकको बाटो कुरिरहेको देखिन्छ।
विपद्ले सबैथोक खोसे पनि उसको आशा भने मरेको छैन। मालिक कुनै दिन फर्केर आउनेछन् भन्ने विश्वासमा यो अबोध प्राणीका आँखा अझै बाटोतिरै छन्।


