काठमाडौं । ओलम्पिक टेनिस च्याम्पियन झेङ किनवेनले चीन–नेपाल सीमा क्षेत्रमा आएको भीषण बाढी र पहिरोपछि जारी राहत तथा उद्धार कार्यका लागि १० लाख चिनियाँ युआन (करिब २ करोड २५ लाख रुपैयाँ) सहयोग गरेकी छन्।
२३ वर्षीया झेङ चीनकी चर्चित तथा सफल खेलाडीमध्ये एक हुन्। उनले यसअघि सन् २०२५ मा तिब्बतमा गएको भूकम्पपछि पनि सोही परिमाणको रकम सहयोग गरेकी थिइन्।
चाइना च्यारिटी फेडरेसनसँग सम्बद्ध सामाजिक सञ्जाल खाताका अनुसार झेङले राहत कार्यको प्रगतिलाई नजिकबाट नियाल्ने बताएकी छन्। उनले विपद् प्रभावित नागरिकहरूले चाँडै कठिनाइ पार गर्दै आफ्ना घर पुनर्निर्माण गर्न सकून् भन्ने शुभेच्छासमेत व्यक्त गरेकी छन्।
गत साता चीनको तिब्बत र नेपाल सीमा क्षेत्रमा आएको भीषण हिमताल बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढी तथा पहिरोबाट हालसम्म ४ हजार ५०० भन्दा बढी मानिस बेपत्ता भएका छन् भने १ हजारभन्दा बढीको मृत्यु पुष्टि भइसकेको जनाइएको छ।
पेरिस ओलम्पिक २०२४ मा महिला एकलतर्फ स्वर्ण पदक जितेकी झेङ हाल युएस ओपनमा प्रतिस्पर्धा गरिरहेकी छन्।


