काठमाडौं । दुबईमा व्यवसाय गर्दै आएका नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनीले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ५१ लाख ५१ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।
पुडासैनीले नेपाल आएर उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। उनले आफ्ना बुबा गोपीप्रसाद पुडासैनीको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरे।
देश विपत्तिमा परेका बेला विदेशमा बसेर चुप लागेर बस्न नसकेको बताउँदै पुडासैनीले मातृभूमिका लागि आफ्नो तर्फबाट सहयोग गर्न पाउनु सौभाग्य भएको बताए।
“विदेशमा बसे पनि मेरो मन नेपालमै छ। देश रोइरहेको बेला म त्यहाँ चुप लागेर बस्न सकिनँ। आफ्नो तर्फबाट सहयोग गर्न पाउनु मातृभूमिप्रतिको गुण तिर्ने एउटा प्रयास हो,” उनले भने।
पुडासैनीले विपत्तिको समयमा विदेशमा रहेका नेपालीलाई पनि आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरे।
“देशलाई समस्या परेको बेला हामी जहाँ भए पनि एकजुट हुनुपर्छ। विदेशमा रहेका नेपालीले पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ,” उनले भने।


