विराटनगर, २२ असोज — कोशी प्रदेश सरकारले बाढीपहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज बनाउन आजदेखि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ।
प्रादेशिक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय र आपूर्ति व्यवस्थापन विभागका प्रतिनिधि तथा चिकित्सकहरू समावेश टोली प्रभावित क्षेत्रमा पठाइने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनीन राईले जानकारी दिनुभयो।
उहाँका अनुसार तीनवटा टोली आज बिहान इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लातर्फ प्रस्थान गर्ने तयारीमा छन्।
यी टोलीहरूले बाढीपहिरो प्रभावित क्षेत्रमा महामारी तथा किटजन्य रोगको जोखिम न्यूनीकरणका लागि जनचेतना जगाउने, पीडितहरूको स्वास्थ्य समस्या बुझ्ने र आवश्यक स्वास्थ्य सहायता प्रदान गर्ने कार्य गर्नेछन्। साथै टोलीहरूले प्रभावित क्षेत्रको क्षतिको विवरण पनि सङ्कलन गर्नेछन्।


