Sunday, November 8, 2026
Homeसामाचारबाढीपहिरोले काभ्रेमा चार गाउँपालिकाको सडक र विद्युत् सेवा अवरुद्ध

बाढीपहिरोले काभ्रेमा चार गाउँपालिकाको सडक र विद्युत् सेवा अवरुद्ध

काभ्रेपलाञ्चोक, २१ असोज — गत शुक्रबारदेखि आइतबारसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले काभ्रेको चार गाउँपालिकामा सडक सञ्जाल र विद्युत् सेवा पूर्णरूपमा अवरुद्ध भएका छन्। प्रभावित गाउँपालिकाहरूमा खानीखोला, महाभारत, रोशी र बेथानचोक पर्छन्।

विद्युत् अवरुद्धसँगै कतिपय गाउँहरूमा सञ्चार सेवा समेत बन्द भएको छ। सडक अवरुद्ध हुँदा आवागमन रोकिएको र केही दिन पर्खनुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन्।

महाभारत र खानीखोला ‘डाँडापारी’ सम्पर्कविहीन

अत्यधिक वर्षा र पहिरोका कारण अति विकट महाभारत पर्वत श्रृङ्खलापारी क्षेत्रका दुई गाउँपालिका — खानीखोला र महाभारत — पूर्ण रूपमा बाह्य सम्पर्कविहीन बनेका छन्।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार सडक, विद्युत् र सञ्चार तीनै सेवा बन्द छन्।
“गाउँपालिका कार्यालय जाने मुख्य सडकसहित विभिन्न वडातर्फ जाने सबै बाटो अवरुद्ध छन्,” उनले बताए, “यी सडक मर्मत गर्न कम्तीमा एक हप्ता लाग्छ, विद्युत् सेवा पनि अवरुद्ध भएकाले दुबै सेवा पुनः सञ्चालनका लागि योजना बनाइरहेका छौँ।”

उनका अनुसार चौकीडाँडा–सिपाली, पिन्थली–रजवास, मंगलटार–डाँडाखर्क र पिप्ले–भीमखोरी सडकखण्डहरू सबै अवरुद्ध भएका छन्।

त्यसैगरी खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार सबै सडक अवरुद्ध भएकाले मर्मतका काममा ढिलाइ भएको छ।
“सोमबारदेखि सडक खुलाउन मेसिन परिचालन गरिएको छ,” उनले भने, “सडक बन्द हुँदा इन्धन आपूर्तिमा समस्या छ, तर छिट्टै समाधानको प्रयास भइरहेको छ।”
थिङका अनुसार विद्युत् सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति खटाइएको छ र एक-दुई दिनमै सेवा पुनः सुचारु गर्ने तयारी भइरहेको छ।

रोशी र बेथानचोकमा पनि अवरुद्ध आवागमन

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूमा विभिन्न स्थानमा अस्थायी डाइभर्सन कटान गरेपछि वडा केन्द्रसम्म पुग्ने बाटो अवरुद्ध भएका छन्।
अध्यक्ष दिनेश लामाका अनुसार चौकीडाँडा र घुमाउने सडक मर्मत भएपछि मात्र गाउँपालिका केन्द्र पुनः सञ्जालसँग जोडिनेछ।
उनका अनुसार रोशीमा विद्युत् सेवा आंशिक रूपमा मात्र सञ्चालनमा रहेको र छिट्टै पूर्णरूपमा नियमित गर्ने तयारी भइरहेको छ।

बेथानचोक गाउँपालिकामा पनि सडक अवरुद्ध भएपछि आइतबारदेखि जनप्रतिनिधिहरू सक्रिय बनेका छन्।
अध्यक्ष भगवान् अधिकारीका अनुसार अबरुद्ध मुख्य सडकहरूलाई खुलाउन प्राथमिकता दिइएको छ र गाउँपालिका कार्यालयबाट वडातर्फ जाने सडकहरू मर्मतका लागि आवश्यक मेसिन प्रयोग भइरहेका छन्।

दुईको मृत्यु, ठूलो भौतिक क्षति

जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोका घटनामा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ।
पूर्वाधारका साथै निजी घर, बिजुलीका पोल, सडक संरचना र खेतीयोग्य जमिनमा समेत ठूलो क्षति पुगेको जनाइएको छ।
स्थानीय तहहरूले आपत्कालीन राहत र सडक पुनःस्थापनाका काम सुरु गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका