बाजुरा । बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ११५ मतदान केन्द्रका मतपेटिका सुरक्षाकर्मीको विशेष निगरानीमा शुक्रबार बिहान ५ बजेसम्म सदरमुकाम मार्तडी पुगेका छन्।
फागुन २१ गते सम्पन्न निर्वाचनपछि जिल्लाका ७७ मतदान स्थलअन्तर्गत ११८ मतदान केन्द्रमध्ये तीन बाहेक अन्य सबै केन्द्रका मतपेटिका सदरमुकाम ल्याइएको हो।
हिमाली गाउँपालिका–३ स्थित हिमाल भक्ति आधारभूत विद्यालय गुम्बाको मतपेटिका भने बिहीबार नै नेपाली सेनाको हेलिकप्टरमार्फत मार्तडी ल्याइएको थियो। ११५ मतदान केन्द्रका मतपेटिका आइपुगेपछि बाँकी रहेका तीन केन्द्रका मतपेटिका पनि हेलिकप्टरमार्फत ल्याइने तयारी गरिएको छ।
हिमाली गाउँपालिका–३ स्थित गङ्गा आधारभूत विद्यालय बौडी, वडा नम्बर–१ मा रहेको सुनन्दा माध्यमिक विद्यालय बाम र विच्छ्या माध्यमिक विद्यालय विच्छ्याका मतपेटिका आज नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिए।
सडक पहुँच भएका क्षेत्रका मतपेटिका सदरमुकाम ल्याई मतगणना स्थल जिल्ला समन्वय समिति बाजुरामा सुरक्षित रूपमा राखिएको छ। बाँकी तीन मतदान केन्द्रका मतपेटिका आएपछि आजै सर्वदलीय बैठक बोलाई मतगणनाको तयारी गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बाजुरामा कुल ८७ हजार ८६१ मतदाता रहेका थिए। तीमध्ये ४६ हजार २३२ मत खसेको छ, जुन कुल मतदाताको करिब ५२ प्रतिशत हो। प्रतिनिधिसभा सदस्यका लागि एक स्वतन्त्रसहित सात राजनीतिक दलका गरी आठ जना उम्मेदवार चुनावी मैदानमा छन्।


