एजेन्सी । तमिल अभिनेता थालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त भएका छन्।
उनको नेतृत्वमा रहेको तमिलगा वेत्री कजगम (टिभीके) ले बहुमत जुटाएपछि राज्यपाल राजेन्द्र अर्लेकरले विजयलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
उनको शपथग्रहण समारोह आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियममा हुने तय गरिएको छ। विजयले मे १३ भित्र विधानसभाबाट विश्वासको मत लिनुपर्नेछ।
सरकार गठनका लागि आवश्यक बहुमत जुटाएपछि विजय समर्थन पत्रसहित राज्यपालसमक्ष पुगेका थिए। उनले विदुथलाई चिरुथैगल कच्ची (भीसीके) र इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल) को समर्थनसहित सरकार गठनको दाबी पेश गरेका हुन्।
यसअघि कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), भीसीके र आईयूएमएलले टिभीकेलाई समर्थन गर्ने घोषणा गरेका थिए।
टिभीके नेता आधव अर्जुनले समर्थन गर्ने दलहरूलाई धन्यवाद दिँदै लोकतन्त्रको रक्षा र जनताको अपेक्षाअनुसार सरकार सञ्चालन गरिने बताएका छन्।
२३४ सदस्यीय तमिलनाडु विधानसभामा टिभीकेले १०८ सिट जितेको थियो। विजय दुई क्षेत्रबाट निर्वाचित भएकाले एक सिट त्याग्नुपर्नेछ। त्यसपछि टिभीकेको संख्या १०७ मा झर्नेछ भने सदनको प्रभावकारी संख्या २३३ हुनेछ। बहुमतका लागि ११७ सांसद आवश्यक पर्नेछ।
कांग्रेससँग ५ सिट रहेको छ भने भारतीय कम्युनिस्ट पार्टी, मार्क्सवादी कम्युनिस्ट पार्टी, भीसीके र आईयूएमएलसँग दुई–दुई सिट छन्। यी दलहरूको समर्थनपछि टिभीके पक्षमा १२१ सिट पुगेको छ।
यसबीच शनिबार राजनीतिक विवाद पनि देखिएको छ। एएमएमके महासचिव टीटीभी दिनाकरनले राज्यपाललाई भेटेर टिभीकेविरुद्ध उजुरी दिएका छन्। उनले आफ्ना विधायकलाई प्रभावमा पार्ने प्रयास भएको आरोप लगाएका छन्।
दिनाकरनले सार्वजनिक भएको एक भिडियो नक्कली भएको दाबी गर्दै त्यसमा विजय पक्षको संलग्नता रहेको आरोपसमेत लगाएका छन्। साथै आवश्यक परे कानुनी उजुरी दिने चेतावनी पनि दिएका छन्।


