Wednesday, July 22, 2026
Homeसामाचारबसपार्क क्षेत्रका अतिक्रमित संरचना स्थानीयले आफैं हटाउन थाले

बसपार्क क्षेत्रका अतिक्रमित संरचना स्थानीयले आफैं हटाउन थाले

पोखरा । पोखरा महानगरपालिका–स्थित बसपार्क क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घर तथा अन्य भौतिक संरचनाहरू स्थानीयवासीले स्वेच्छिक रूपमा हटाउन थालेका छन्।

महानगरपालिकाले उक्त क्षेत्र खाली गर्न जारी गरेको १५ दिने सूचनाको समयसीमा आइतबार सकिन लागेसँगै स्थानीयले आफ्ना घरटहरा भत्काउने तथा सामान सुरक्षित स्थानमा सार्ने कार्य तीव्र बनाएका हुन्।

व्यवस्थित बसपार्क निर्माणको दीर्घकालीन योजनालाई सहयोग पुर्‍याउने उद्देश्यले जग्गाधनी तथा स्थानीय बासिन्दाले संरचना हटाउने अभियानमा साथ दिएका छन्। उनीहरूले क्षेत्रको विकास र सार्वजनिक पूर्वाधार निर्माणका लागि आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन्।

स्थानीयका अनुसार विगतमा १ लाख ५० हजार रुपैयाँ तिरेर लालपुर्जा प्राप्त गरिएको भए पनि बसपार्क निर्माणजस्तो महत्त्वपूर्ण परियोजनाका लागि सहज वातावरण सिर्जना गर्नु सबैको साझा दायित्व हो।

यसैबीच, बसपार्क निर्माणका लागि विसं २०३० मा अधिग्रहण गरिएको जग्गासम्बन्धी सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति प्रक्रियामा उठेका गुनासा र विवादहरूको अध्ययन तथा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ।

पोखरा उपत्यका नगर विकास समिति ले पूर्वन्यायाधीश शंकरराज बराल को अध्यक्षतामा जेठ १३ गते समिति गठन गरेको हो। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

समितिको प्रतिवेदनपछि बसपार्क निर्माणसँग सम्बन्धित विवाद तथा प्रक्रियागत विषयमा थप स्पष्टता आउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका