काठमाडौं। नर्वेका युवराज्ञीका छोरा मारियस बोर्ग होइबी बलात्कार मुद्दाको सुनुवाइ सुरु हुनुभन्दा केही दिनअघि नयाँ आरोपमा पुनः पक्राउ परेका छन्।
ओस्लो प्रहरीले आइतबार साँझ होइबीलाई आक्रमण, चक्कु देखाएर धम्की दिएको तथा अदालतको आदेश उल्लङ्घन गरेको आरोपमा हिरासतमा लिएको जनाएको छ। उनको मुद्दाको सुनुवाइ हुन अझै दुई दिन बाँकी रहँदा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार होइबीमाथि हालसम्म कूल ३८ वटा आरोप लागिसकेका छन्। तीमध्ये बलात्कार, पूर्व पार्टनरविरुद्ध घरेलु हिंसा र महिलाहरूको जानकारी वा अनुमति बिना अवैध रूपमा भिडियो खिचिएको चारवटा आरोप प्रमुख छन्।
मारियस होइबीलाई आफ्नी प्रेमिकामाथि आक्रमण गरेको आरोपमा पहिलो पटक सन् २०२४ अगस्ट ४ मा पक्राउ गरिएको थियो। त्यसयता यस घटनासम्बन्धी अनुसन्धान जारी छ।
होइबी नर्वेका युवराज हाकोन र युवराज्ञी मेट्टे–मारिटको विवाहपूर्व सम्बन्धबाट जन्मिएका छोरा हुन्।


