जुम्ला — सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित ऐतिहासिक तथा धार्मिक स्थल बडिमालिका भगवती मन्दिरमा पूजाआजा गर्न जुम्लाबाट सरकारी टोली बाजुरा प्रस्थान गरेको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा विष्णुबहादुर महतको नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्यायसहित भक्तजनको टोली मङ्गलबार बडिमालिका प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) केदारनाथ शर्माले जानकारी दिनुभयो।
बडिमालिका प्रस्थान गर्ने टोलीलाई नेपाली सेनाको एक टुकुटीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण गर्दै पाँचवटा सलामी, ब्यान्डबाजा र बिगुलसहित बिदाइ गरिएको थियो। सयौं भक्तजन, सरकारी तथा गैससका प्रतिनिधिहरूले फूलमाला र अबिरसहित टोलीलाई भावपूर्ण विदाइ गरेका थिए।
परम्पराअनुसार प्रत्येक वर्ष साउन शुक्लपूर्णिमाको दिन, नाग पञ्चमीका अवसरमा जुम्ला र डोटीबाट सरकारी टोली संयुक्त रूपमा बडिमालिकामा पूजा गर्न जान्छन्। यस अवसरमा सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुलीलगायत पाँचवटा पूजाका सामग्री ‘पेटारो’ नामक झोलामा राखेर मन्दिरमा अर्पण गरिन्छ।
टोलीको सुरक्षाका लागि सिमावर्ती जिल्ला प्रशासन तथा प्रहरी कार्यालयहरूसँग समन्वय गरिएको छ। परम्पराअनुसार, बडिमालिका पूजा सम्पन्न भएपछि जुम्लामा विशेष जात्रा आयोजना हुने चलन छ। टोली यही साउन ३२ गते, अर्थात् १७ दिनपछि जुम्ला फर्किने कार्यक्रम छ।
जिल्ला समन्वय समितिका प्रमुख गोरीनन्द आर्चायका अनुसार, बडिमालिकाको पूजाले जुम्ला र बाजुरा बीचको धार्मिक सहिष्णुता तथा एकताको प्रतीक बनेको छ र यसले धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ।


