काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री प्रकाश शरण महतले बजेटलाई प्राथमिकताका आधारमा खर्च गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
बिहीबार बजेट पूर्वतयारी छलफलमा बोल्दै उनले भने, “हामीसँग सीमित स्रोत छन्, त्यसलाई प्राथमिकताका आधारमा खर्च गर्नुपर्छ। सबै क्षेत्रमा खर्च गर्न सम्भव छैन, तर उत्पादन वृद्धि र पर्यटन प्रवर्द्धन हुने स्थानमा पूर्वाधार निर्माण प्राथमिकतामा पर्नुपर्छ।”
महतका अनुसार प्राथमिकतामा आधारित खर्चले परिणाममुखी विकास सम्भव बनाउँछ। उनले सरकारको पहिलो काम विनियोजन खर्चको पुनःसंरचना गरी त्यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अर्थतन्त्रको पुनःसंरचना गरी उत्पादनमुखी प्रणालीमा रूपान्तरण गर्नुपर्ने धारणा राखे।
उनले भने, “नीतिगत स्पष्टता आवश्यक छ। उत्पादनमूलक अर्थतन्त्रमा लाग्नुपर्छ र चालु खर्च पनि घटाउनुपर्छ। त्यसो नगरे अहिलेको अर्थतन्त्रले संरचना धान्न सक्दैन।”


