बग्दाद । इराकको राजधानी बग्दादबाट एक अमेरिकी स्वतन्त्र पत्रकार शेली किट्टल्सनको अपहरण भएको छ। इराक र अमेरिकी अधिकारीहरूका अनुसार यस घटनामा इरान समर्थित सशस्त्र समूह कताइब हिजबुल्लाहसँग आबद्ध व्यक्तिहरूको संलग्नता रहेको आशंका गरिएको छ।
समाचार पोर्टल अल-मोनिटरका लागि लेख्दै आएकी किट्टल्सनलाई मंगलबार साँझ बग्दादको मध्यभागस्थित एक होटल नजिकैबाट अपहरण गरिएको हो। अपहरणकारीको गाडीलाई सुरक्षा बलले पछ्याउने क्रममा एउटा गाडी पल्टिएको र सो क्रममा एक जना संदिग्धलाई पक्राउ गरिएको इराकी आन्तरिक मन्त्रालयले जनाएको छ।
अमेरिकी विदेश मन्त्रालयका सहायक सचिव डिलन जोन्सनले नाम उल्लेख नगरी एक अमेरिकी पत्रकार अपहरणमा परेको पुष्टि गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले यसअघि नै सम्भावित सुरक्षाखतराबारे चेतावनी दिएको उल्लेख गर्दै उनको सुरक्षित रिहाइका लागि एफबीआईसँग समन्वय भइरहेको बताएका छन्।
अमेरिकी अधिकारीहरूले अपहरणअघि नै किट्टल्सनलाई बारम्बार सम्पर्क गरेर सुरक्षासम्बन्धी जोखिमबारे जानकारी गराएको जनाइएको छ। पक्राउ परेका व्यक्ति इरानसँग निकट मानिने कताइब हिजबुल्लाह समूहसँग सम्बन्धित रहेको अमेरिकी पक्षको दाबी छ।
किट्टल्सनका आपत्कालीन सम्पर्क व्यक्ति तथा सीएनएनका राष्ट्रिय सुरक्षा विश्लेषक एलेक्स प्लिट्सासका अनुसार उनलाई इरान समर्थित अर्धसैनिक समूहबाट हुन सक्ने लक्षित खतराबारे पहिले नै सचेत गराइएको थियो। उक्त समूहले महिला पत्रकारहरूलाई अपहरण गर्ने वा मार्ने योजना बनाएको र किट्टल्सनको नाम समेत उनीहरूको सूचीमा रहेको चेतावनी दिइएको थियो।
इराकी अधिकारीहरूले पत्रकारको रिहाइका लागि उच्चस्तरीय पहल भइरहेको बताएका छन्। आन्तरिक मन्त्रालयका अनुसार गुप्तचर सूचनाका आधारमा अपहरणकारीहरूको खोजी र पक्राउका लागि सघन अभियान सञ्चालन गरिएको छ।
अल-मोनिटरले आफ्नी योगदानकर्ता पत्रकारको अपहरणप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनको तत्काल र सुरक्षित रिहाइको माग गरेको छ। अमेरिकी विदेश मन्त्रालयले भने गोपनीयताको कारण देखाउँदै यस विषयमा थप विवरण दिन अस्वीकार गरेको छ।


