काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनलाई ‘बाध्यताको चुनाव’ भएको बताएका छन्। सुर्खेतमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले वर्तमान चुनाव संविधानलाई सही दिशामा राख्न अनिवार्य सर्तसमेत भएको उल्लेख गरे।
चुनाव सफल बनाउन नेपाली कांग्रेसले आफ्नो भूमिका निर्वाह गरिसकेको दाबी गर्दै उनले फागुन २१ गतेको निर्वाचन सन्दर्भमा भदौ २३ र २४ गते भएका घटनालाई बिर्सन नहुने बताए।
“यो चुनाव बाध्यताको चुनाव हो। अहिले हाम्रो संविधानलाई ट्रयाकमा राख्नका निम्ति यो अनिवार्य सर्त पनि हो,” उनले भने, “फागुन २१ गतेको चुनावको सन्दर्भमा हामीले भदौ २३ र २४ गतेका घटनालाई बिर्सेर हुँदैन।”
थापाले अब देशमा सरकारको गोलीबाट कुनै नागरिकको ज्यान जान नहुने र नकाब लगाएर सिंहदरबार जलाउने जस्ता गतिविधि दोहोरिन नदिने अवस्था सिर्जना गर्नुपर्ने बताए। त्यसका लागि ती घटनाहरूको गम्भीर मूल्यांकन आवश्यक रहेको उनको भनाइ थियो।
उनले केही शक्तिहरूले भदौ २३ र २४ का घटनालाई इन्कार गर्ने प्रवृत्ति देखाएको आरोप लगाउँदै ती घटनाअघि सबै अवस्था सामान्य थियो भन्ने तर्क गलत भएको जिकिर गरे।
नेपालको राजनीति फोहोर र प्रदूषित बनेको उल्लेख गर्दै उनले गठबन्धनको राजनीतिले समग्र राजनीतिक वातावरण दूषित बनाएको आरोप लगाए। कांग्रेस फरक सोच र संकल्पसहित अघि बढेको दाबी गर्दै उनले फोहोर राजनीतिलाई सफा गर्ने प्रतिबद्धता व्यक्त गरे।
“८२ देखि ८७ सम्मको पाँच वर्षलाई देश र जनताका लागि स्वर्णिमकाल बनाउने सपना बोकेर हामी आएका छौं,” उनले भने।


