धनगढी, १८ भदौ । नेपालका सहरहरूमा चुनौती बनेको फोहर व्यवस्थापनमा धनगढी उपमहानगरपालिका र पोखरा महानगरपालिकाबीचको सहकार्यलाई अनुकरणीय मानिएको छ । धनगढीले एकपटक प्रयोग हुने प्लास्टिकमा प्रतिबन्ध लगाउँदै फोहर व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।
मङ्गलबार धनगढीमा भएको परियोजनाको प्रस्तुतीकरण तथा अनुभव साटासाट कार्यक्रममा वक्ताहरूले फोहरको उचित व्यवस्थापनमार्फत आयआर्जन र रोजगारी सिर्जना गर्न सकिनेमा जोड दिए ।
उपमहानगर प्रमुख गोपी हमालले सरसफाइलाई पालिकाको गौरवको योजना बनाएर अघि बढाइएको बताए । उनले भने, “सडक, पुल वा भवन नभई हाम्रो गौरवको योजना फोहर व्यवस्थापन र सरसफाइ हो । स्थानीय तहले कम प्राथमिकता दिने यो क्षेत्रमा हामीले पहिलो प्राथमिकता दिएका छौँ र त्यसअनुसार बजेट तथा कार्यक्रम तय गरेका छौँ ।”
नगरप्रमुख हमालले प्लास्टिकजन्य फोहर फैलन नदिन गुट्खा र एकपटक प्रयोग हुने प्लास्टिकलाई प्रतिबन्ध लगाइएको स्पष्ट पारे ।
त्यसैगरी, वातावरण अधिकृत अशोक अवस्थीले धनगढीमा फोहरबाट बायोग्यास उत्पादनदेखि विभिन्न वस्तु निर्माण गर्ने तयारी भइरहेको बताए । उनका अनुसार ९५ प्रतिशत फोहर घरमै वर्गीकरण भएर आउने गरेको छ भने अस्पतालजन्य फोहर व्यवस्थापनका लागि छुट्टै संरचना निर्माण गरिएको छ ।
पोखरा महानगरपालिकामा सञ्चालित ‘रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सृजना परियोजना’ का सहजकर्ता नेत्र तिमिल्सिनाले परियोजनाको अनुभव सुनाउँदै फोहर व्यवस्थापनलाई चक्रीय अर्थतन्त्रमा रूपान्तरण गर्ने योजनाबारे जानकारी दिए । उनका अनुसार परियोजनाले १३६ टोलमा सचेतना अभियान सञ्चालन गर्दै आएको छ ।
उक्त परियोजना कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) को आर्थिक तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (UNDP) को प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ । यसले हरित रोजगारी प्रवर्द्धन गर्नुका साथै ठोस फोहरमैलाबाट हुने प्रदूषण तथा नकारात्मक प्रभाव न्यूनीकरणमा योगदान पुर्याउने विश्वास गरिएको छ ।


