Thursday, December 11, 2025
Homeसामाचारफरार कैदी र लुटिएका हतियार फिर्ता गर्न विशेष अपरेसन सञ्चालन हुने

फरार कैदी र लुटिएका हतियार फिर्ता गर्न विशेष अपरेसन सञ्चालन हुने

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गर्ने तयारी गरेको बताएका छन्। उनले यो कार्य सफल बनाउन नागरिक तहबाट पनि सहयोग आवश्यक रहेको बताएका छन्।

शनिबार आयोजित ‘राष्ट्रिय वृहत् आर्थिक बहस २.०’ कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले सुशासन सुनिश्चित गर्न नसकिए द्वन्द्व दोहोरिन सक्ने चेतावनी दिए। उनका अनुसार हालको अवस्थाले सुरक्षा तथा प्रशासनिक संयन्त्रलाई ठुलो सन्देश दिएको छ।

उनले जानकारी दिँदै भने, “आन्दोलनका क्रममा लुटिएका ७१० मध्ये केही हतियार डढेका छन्, तर धेरैजसो फिर्ता आइसकेका छन्। बाँकी हतियार फिर्ता गर्न विशेष अपरेसन सञ्चालन गर्न लागिएको हो।”

त्यस्तै, आन्दोलनका बेला फरार भएका १४ हजार ५४९ जना कैदीमध्ये ९ हजार ५२१ जना (करिब ६५ प्रतिशत) फर्किइसकेका छन् भने अझै ५ हजार १ सय ५ जना (३५ प्रतिशत) बाहिरै रहेको उनले बताए।

गृहमन्त्री अर्यालले पटक–पटक सूचना जारी गर्दा पनि बाँकी कैदीहरू फिर्ता नभएकाले कानुनी राज्यको जगेर्ना गर्न विशेष अपरेसन अपरिहार्य भएको बताए। उनले सरकार र निजी क्षेत्र एकअर्काका परिपूरक भएको उल्लेख गर्दै सरकार थप रचनात्मक र उत्तरदायी ढङ्गले अघि बढ्ने प्रतिबद्धता जनाए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका