काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको छ।
समितिले सूचना जारी गर्दै शर्मालाई प्रधानन्यायाधीश पदका लागि अनुपयुक्त ठान्ने व्यक्तिले स्पष्ट आधार र प्रमाणसहित १० दिनभित्र उजुरी दिन सक्ने जनाएको छ।
उजुरी दिने व्यक्तिले आफ्नो नाम, थर, वतन तथा फोन नम्बर खुलाउनुपर्ने व्यवस्था गरिएको छ। तर, उजुरीकर्ताले चाहेमा उनको परिचय गोप्य राखिने समितिले जनाएको छ।
संवैधानिक परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिले प्रस्तावित व्यक्तिको योग्यता, आचरण तथा क्षमताको परीक्षण गरेपछि मात्रै नियुक्ति प्रक्रिया अघि बढ्ने संवैधानिक व्यवस्था रहेको छ।
समितिका अनुसार प्राप्त उजुरीमाथि छलफल तथा छानबिन गरिनेछ। त्यसपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग प्रत्यक्ष सुनुवाइ गरिने प्रक्रिया अघि बढाइनेछ।



