काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
आइतबार पार्टीका सांसदहरूको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले प्रधान न्यायाधीश सिफारिस प्रक्रियाबारे भइरहेको टीकाटिप्पणीका सन्दर्भमा मल्लले दिएको अभिव्यक्तिमाथि टिप्पणी गरेका हुन्।
लामिछानेले प्रधान न्यायाधीश सिफारिस परम्पराभन्दा बाहिर गएको र त्यसलाई असंवैधानिक भनिएको उल्लेख गर्दै संवैधानिक परिषद्को भूमिकामाथि प्रश्न उठाए।
उनले वरिष्ठताका आधारमा नियुक्ति गर्ने व्यवस्था हुने हो भने संवैधानिक परिषद्को आवश्यकता नपर्ने तर्क गरे।
प्रधान न्यायाधीश सिफारिसमा परम्परा तोडिएको भन्दै आलोचना भइरहेका बेला उनले परम्परा नटुटेको भए भागबन्डाको राजनीति अझै जारी रहने सम्भावना रहेको बताए।
लामिछानेले डर र प्रभावमा न्याय सम्भव नहुने उल्लेख गर्दै न्यायालयका विषयमा अनावश्यक टिप्पणी गरेर विवाद सिर्जना नगर्न आग्रह गरे।
उनले आम नागरिकलाई सहज रूपमा न्याय उपलब्ध गराउने प्रणाली आवश्यक रहेको पनि बताए।
सुकुमबासीका विषयमा बोल्दै लामिछानेले भूमिहीन नागरिकले अधिकार नपाउँदासम्म आफूले आवाज उठाइरहने बताए।


