काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नहरूको तत्काल जवाफ दिन माग गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद साम्पाङले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ अनुसार नेपाल सरकारका प्रमुख प्रधानमन्त्री आफैं संसद्मा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर दिनुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराए।
उनले उक्त व्यवस्थाअनुसार सरकार संसद् र जनताप्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्नेमा जोड दिए।
विशेष समय लिएर बोल्दै सांसद साम्पाङले आफूले गत वैशाख २८ र २९ गते गृह मन्त्रालय, रक्षा मन्त्रालय तथा अन्य मन्त्रालयसँग सम्बन्धित विभिन्न सार्वजनिक महत्त्वका प्रश्नहरू उठाएको बताए।
हाल गृह मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री स्वयंले सम्हालेको अवस्थामा देशको शान्ति सुरक्षा, सुकुम्बासी समस्या, सीमा विवाद तथा लिपुलेकजस्ता संवेदनशील विषयमा आफूले प्रश्न उठाएको उनले स्पष्ट पारे।
उनले यी राष्ट्रिय सरोकारका गम्भीर मुद्दामा प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर स्पष्ट र जिम्मेवारपूर्ण जवाफ दिनुपर्ने अडान राखे। उनले संसद्मा उठाइएका प्रश्नप्रति सरकार गम्भीर र जवाफदेही बन्नुपर्ने पनि जोड दिए।


