Wednesday, August 12, 2026
Homeसामाचारप्रधानमन्त्री शाहद्वारा भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता

प्रधानमन्त्री शाहद्वारा भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारत र चीनका राजदूतसँग सोमबार छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री पदभार ग्रहण गरेपछि यसअघि कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्दै आएका शाहले यसपटक भने दुवै छिमेकी मुलुकका राजदूतसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका हुन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बिहान प्रधानमन्त्री शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच करिब ४५ मिनेट भेटवार्ता भएको थियो। भेटमा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको थियो।

भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई सफल कार्यकालको शुभकामना दिँदै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री शाहले पनि भारतसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिए।

यसैगरी, सोमबार दिउँसो प्रधानमन्त्री शाहले नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग पनि सिंहदरबारमै शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटमा नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पुर्‍याउने, विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने तथा विकास साझेदारीलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्यलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। चिनियाँ राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई सफल कार्यकालको शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री शाहले भारत र चीनका राजदूतसँग गरेको छुट्टाछुट्टै भेटवार्तालाई छिमेकी मुलुकसँगको द्विपक्षीय सम्बन्ध, कूटनीतिक सहकार्य तथा विकास साझेदारीलाई नयाँ गति दिने प्रयासका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका