काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन् । राजनीतिक गतिविधिमा संलग्न भएको पाइएको भन्दै प्रधानमन्त्रीले ऊर्जा मन्त्री कुलमान घिसिङ, खेलकुद मन्त्री बब्लु गुप्ता र सञ्चार मन्त्री जगदीश खरेललाई राजीनामा दिन सुझाएको एक मन्त्रीले जानकारी दिएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा नागरिक सरकारका मन्त्रीहरू राजनीतिक गतिविधिमा सक्रिय रहेको भन्दै प्रधानमन्त्रीले प्रश्न उठाउँदै, राजनीतिक गतिविधि नगर्ने मात्र आफू नेतृत्वको मन्त्रिपरिषद्मा रहन सकिने स्पष्ट पारेको ती मन्त्रीले बताए। विशेषगरी कुलमान घिसिङको सक्रियतालाई लिएर प्रधानमन्त्री बढी गम्भीर भएको जनाइएको छ।
हालै कुलमान घिसिङले आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई रास्वपामा मिसाएका थिए, र सोही पार्टीमा रास्वपाले उनलाई उपसभापति बनाएको छ।
त्यसैगरी, रास्वपाको गतिविधिमा बब्लु गुप्ता पनि देखिएका छन् भने सञ्चार मन्त्रीले समेत आफ्नो स्वार्थअनुसार राजनीतिक गतिविधि गरिरहेको प्रधानमन्त्रीको बुझाइ छ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नागरिक सरकारका रूपमा सुशीला कार्कीको नेतृत्वमा सरकारले गठन भएको थियो।


