काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यविहीनताको फाइदा उठाउँदै जेनजी आन्दोलनमा सहभागीहरूले औद्योगिक र व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण अस्वीकार्य भएको बताएकी छिन्।
शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको आत्मविश्वास पुनर्जीवित गर्न सरकारले कुनै कमी बाँकी नराख्ने प्रतिबद्धता जनाइन्।
उनले भनिन्, “पहिलेका भन्दा अहिलेका चुनौती फरक छन्। यो आत्मविश्वास र चुनौतीसँग जोडिएको अवस्था हो। भर्खरैको जेनजी आन्दोलनले नेपाललाई अस्थिर बनाउने प्रयासलाई स्पष्ट रूपमा देखाएको छ। भ्रष्टाचारको सञ्जाल अब सह्य छैन। लोकतन्त्रको नाममा लुटतन्त्र स्वीकार्य छैन। नीतिगत चलखेल गर्नेहरू अब पोषित हुने छैनन्। राज्यविहीनताको फाइदा उठाउँदै औद्योगिक र व्यापारिक क्षेत्रमाथि आक्रमण गर्ने प्रवृत्ति अस्वीकार्य छ। निजी क्षेत्रको आत्मविश्वास जगाउन सरकारले कुनै कसुर बाँकी राख्ने छैन।”
प्रधानमन्त्री कार्कीले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको योगदानलाई उच्च सम्मान दिँदै भनिन्, “कूल ग्राहस्थ उत्पादन, निर्यात, रोजगारी र करदाताको रूपमा निजी क्षेत्रको भूमिका सधैँ अग्रणी रहँदै आएको छ। उद्योगी व्यवसायीहरू आर्थिक समृद्धिको जगका विशाल ढुंगाहरू हुन्, जसको आधारमा मुलुकको समृद्धिको धरोहर अडिएको छ।”
उनले निजी क्षेत्रका मागहरू सम्बोधन गर्न सरकारले सहज वातावरण निर्माणका लागि निरन्तर सहकार्य गरिरहेको स्पष्ट पारिन्। रेमिटेन्समा निर्भर अर्थतन्त्रबाट बाहिर निस्केर स्वदेशी उत्पादन बढाउने अभियानमा सरकार जुटेको बताउँदै उनले विज्ञहरूको सल्लाहअनुसार पुँजीगत खर्चलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरिन्।


