काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीट्जरल्यान्डका संघीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले सोमबार शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भेटवार्तामा दुई देशबीचको दीर्घकालीन मित्रता सुदृढ गर्दै विकासका विविध क्षेत्रहरूमा सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
स्वीस विदेशमन्त्री क्यासिसले नेपालको समावेशी विकास, सङ्घीयता सबलीकरण, संक्रमणकालीन न्याय, जलवायु परिवर्तन, तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा स्वीट्जरल्यान्ड सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री ओलीले नेपालमा लामो समय हिंसात्मक र अस्थिर राजनीति चले पनि अहिले दुई प्रमुख दलको सहकार्यमा लोकतन्त्र, सुशासन र समावेशी विकासलाई सुदृढ गर्ने उद्देश्यले सरकार गठन भएको उल्लेख गर्दै परिस्थितिमा सकारात्मक सुधार आइरहेको बताए।
प्रधानमन्त्रीले नेपालको विकास यात्रामा स्वीट्जरल्यान्डको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे।
भेटमा नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. डानियल मेउल्ली, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीलगायतको उपस्थिति थियो।


