काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेट गरेका छन्।
भेटमा भारत–पाकिस्तानबीच हाल उत्पन्न तनावपूर्ण परिस्थितिबारे राजदूत श्रीवास्तवले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार, भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणका सम्बन्धमा छलफल भएको थियो। उक्त आक्रमणमा एक नेपाली नागरिकसहित २८ जनाको ज्यान गएको थियो।
राजदूत श्रीवास्तवले घटनास्थलमा भारतले गरेको जवाफी कारबाहीबारे जानकारी दिँदै जेट हमला गरिएको भन्ने प्रचार झुटो रहेको बताए। उनले सो घटनासम्बन्धी नेपाल सरकारले बिहीबार जारी गरेको वक्तव्यप्रति आभार पनि व्यक्त गरेका थिए।
प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिको पक्षधर राष्ट्र भएको दोहोर्याउँदै, सबै प्रकारका आतंकवादी गतिविधिको स्पष्ट रूपमा भत्र्सना गरे। उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकी राष्ट्रविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने दृढ प्रतिबद्धता व्यक्त गरेका थिए।