काठमाडौं । गत आर्थिक वर्षको उखु अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरुको काठमाडौं केन्द्रित आन्दोलन निरन्तर जारी छ।
उखु उत्पादक महासंघ र उखु उत्पादक कृषक समिति लगायतका किसान संगठनले क्विन्टलप्रति ७० रुपैयाँ दरले अनुदान भुक्तानी गर्नुपर्ने माग गर्दै आइतबारदेखि माइतीघरमा प्रदर्शन गरिरहेका छन्।
चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले आवश्यक विनियोजन नगरेपछि किसानहरु अघिल्लो वर्षकै अनुदान भुक्तानी पनि नआउने हो कि भन्ने आशंकामा छन्। उनीहरुले गत वर्ष स्वीकृत रकमसमेत कटौती हुने भय व्यक्त गरेका छन्।
आन्दोलनमा बोल्दै किसान नेता हरिचन्द ठकुरीले संसदबाट दुई अर्ब रुपैयाँ पारित भए पनि प्रधानमन्त्रीले रकम निकासा गर्न नचाहेको आरोप लगाए। उनले भने, “प्रधानमन्त्रीको इच्छाले नै भुक्तानी रोकिन्छ भन्ने अवस्था आएको छ। संसदबाट दुई अर्ब पारित भएकोमा अहिले ७५ करोड मात्र निकासा भएको छ। बाँकी एक अर्ब २५ करोड पनि दिन प्रधानमन्त्री इच्छुक देखिँदैनन्।”
उनले संघीय तथा प्रदेश तहका जनप्रतिनिधिहरु किसानको पक्षमा देखिए पनि प्रधानमन्त्रीको तर्फबाट सहयोग नआएको गुनासो गरे। माग पूरा नभए राजमार्ग अवरोधलगायतका कठोर आन्दोलन गर्ने चेतावनीसमेत उनले दिए।
यस्तै अर्का किसान नरेन्द्र सिंह विष्टले कञ्चनपुरका दुईवटा सुगर मिलले मात्रै प्रत्येक वर्ष सरकारलाई भ्याट र टिडिएसमार्फत सय करोड रुपैयाँ कर तिर्दै आएको जानकारी दिए। उनले चिनी उद्योग र उखु किसान दुवैलाई बेवास्ता गरेको भन्दै सरकारले उद्योग व्यवसायी र किसानलाई संकटमा पारेको दाबी गरे।


