Saturday, October 24, 2026
Homeदेश र प्रदेशप्रदेश १प्रदेश १ मा तीन वर्षमा बलात्कारका एक हजार ६२५ घटना आधाभन्दा बढी...

प्रदेश १ मा तीन वर्षमा बलात्कारका एक हजार ६२५ घटना आधाभन्दा बढी घटना झापा, मोरङ र सुनसरी जिल्लामा मात्र

प्रदेश १ मा प्रत्येक वर्ष जबरजस्ती करणीका घटना बढेको देखिएको छ । पछिल्ला तीन वर्षको अवधिमा एक हजार ६२५ वटा जबरजस्ती करणीका घटना भएका छन् । प्रदेशका कुल १४ जिल्लामा बर्सेनि औसत ५ सय बढीको संख्यामा जबरजस्ती करणीको घटना हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ, जसमा ५ वर्षे शिशुदेखि ७० वर्षीया वृद्धा समेत बलात्कारमा परेका छन् ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश १ मा कुल ५९० वटा जबरजस्ती करणीका घटना भएका छन् । गत आर्थिक वर्षमा जबरजस्ती करणीको घटनामा १८ वर्षभन्दा माथि ५९ वर्षसम्मका ३१७ जना पीडित भएका छन् । यस्तै, ५ वर्षदेखि १८ वर्ष उमेर समूहमा २७० जना र ६० देखि ७० वर्ष उमेरका १२ जना जबरजस्ती करणीको घटनामा पीडित भएका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशभरि कुल ४७६ वटा जबरजस्ती करणीका घटना भएका छन् । जसमध्ये पाँच वर्षदेखि १८ वर्ष उमेर समूहका २७७ जना बलात्कारमा परेका छन् । सो आर्थिक वर्षमा ६० देखि ७० वर्ष उमेर समूहका १० जना वृद्धा बलात्कारमा परेका छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशभर कुल ५५९ जबरजस्ती करणीका घटना भएका छन् ।

प्रदेशका १४ मध्ये तीन जिल्लामा ५० प्रतिशतभन्दा बढी घटना

प्रदेश १ मा आर्थिक वर्ष २०७५/७६ मा बलात्कारका कुल ५५९ घटनामध्ये झापा, मोरङ र सुनसरीमा मात्र कुल ३४० घटना भएको छ । बाँकी ११ जिल्लामा २१९ त्यस्ता घटना भएको प्रहरीले जनाएको छ ।

यस्तै आर्थिक वर्ष २०७६/७७ मा प्रदेश १ का १४ जिल्लामा गरी ४७६ बलात्कारका घटना भएकोमा झापा, मोरङ र सुनसरीमा मात्र कुल २७५ घटना भएका छन् । बाँकी ११ जिल्लामा २०१ त्यस्ता घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/७८ मा प्रदेश १ का १४ जिल्लामा गरी बलात्कारका कुल ५९० घटना भएकोमा झापा, मोरङ र सुनसरी गरी तीन जिल्लामा मात्र ३४४ त्यस्तो घटना भएको पाइएको छ भने बाँकी ११ जिल्लामा २४६ वटा घटना भएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा मात्र प्रदेशमा ४४ वटा जबरजस्ती करणीका घटना भएका छन् । ती घटनामा ५ देखि १८ वर्ष उमेर समूहका २९ जना, १८ देखि ५९ वर्ष समूहका १३ जना र ६० देखि ७० वर्ष उमेर समूहका दुई जना बलात्कृत भएका छन् ।

प्रदेश १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नविनराज राईका अनुसार सहरी क्षेत्रमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण यौनजन्य हिंसाका घटना बढेको हो । उनी भन्छन्, ‘हामीले त्यस्ता घटना बढी हुने सहरी क्षेत्रमा निगरानी बढाएका छौं ।’

प्रहरी उपरीक्षक राईले ललाई फकाई तथा प्रेम विवाहको प्रलोभनमा पारेर यौनजन्य हिंसा गराउने प्रचलन बढी पाइएको बताए । त्यस्ता प्रकृतिको घटनाका पीडकको उमेर समूह १६ देखि २५ वर्षका मानिसहरुको संख्या बढी छ भने पीडितको उमेर समूहमा १६ वर्षदेखि मुनिका छन् ।

१ नम्बर प्रहरी कार्यालयका प्रहरी प्रवक्तासमेत रहेको राईका अनुसार जबरजस्ती करणीका अन्य कारणहरुमा डर त्रास, धाकधम्की तथा आर्थिक प्रलोभन हुने गरेको पाइएको छ । यसरी पीडित हुनेमा १८ देखि ३५ वर्ष उमेर समूहका महिला बढी छन् । नाबालिका तथा वृद्धा भने प्रतिकार गर्न नसक्दा बलात्कारमा पर्ने गरेका छन् ।

धैरैजसो बलात्कारको घटनामा परिवारभित्रैको सदस्य र आफन्तबाट हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

प्रत्येक वर्ष बलात्कारका घटनामा वृद्धि हुनु र आफन्तहरु नै त्यसमा संलग्न भएको पुष्टि हुनुले महिलाको सुरक्षामा चुनौती थपिएको महिला अधिकारकर्मी मञ्जिता उपाध्याय बताउँछिन् । महिलामाथि हुने यौनजन्य हिंसा धेरैजसो त आपसी सहमतिमा मिलापत्र गरेरै टुङ्गिने गरेको उपाध्याय बताउँछिन् ।

यौनजन्य हिंसाका घटना सार्वजनिक गर्दा इज्जत जान्छ, जेल बस्नुपर्छ भनेर पनि मिलापत्रमा मिलाउने अवस्था देखिएको उनले बताइन् ।

उपाध्याय भन्छिन्, ‘यौनजन्य हिंसाजस्ता जघन्य अपराधको यो डरलाग्दो रुपलाई कम गर्न अभियान नै चलाउनुपर्ने आवश्यकता छ ।’

आ.व. २०७७।०७८ ​ 
सि.नं.  जिल्ला दर्ता फर्छौट बांकी पक्राउ फरार
पुरुष महिला पुरुष महिला
१ झापा १०९ ८८ २१ १०३ १ २० ०
२ मोरङ १२८ ८६ ४२ ११० ० २८ ०
३ सुनसरी १०७ ७८ २९ ८२ ८ २९ ०
४ इलाम १९ १७ २ २० ० २ ०
५ पाँचथर २३ २३ ० २३ ० १ ०
६ ताप्लेजुङ १८ १६ २ २१ ० ३ ०
७ धनकुटा १४ १३ १ १५ ० १ ०
८ संखुवासभा २७ २५ २ २३ ० ५ ०
९ तेह्रथुम ११ ७ ४ १२ ० ० ०
१० भोजपुर २० १२ ८ १४ ० ६ ०
११ उदयपुर ४७ ३९ ८ ४३ १ १२ ०
१२ खोटाङ २० १७ ३ १७ ० ३ ०
१३ ओढु २२ २१ १ २३ ० ४ ०
१४ सोलु २५ २४ १ २५ ० ० ०
जम्मा ५९० ४६६ १२४ ५३१ १० ११४ ०

#प्रदेश१

रातोपाटीबाट

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका