काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना समर्थक तथा सम्पूर्ण मतदातालाई ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न अपिल गरेको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालद्वारा जारी अपिल पत्रमा लोकतान्त्रिक प्रणाली, संविधान र राष्ट्रिय स्वाधीनताको रक्षा, भ्रष्टाचारविरुद्धको सङ्घर्ष तथा आर्थिक–सामाजिक रूपान्तरणमार्फत समाजवादी समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
अपिलमा शहीद, घाइते, अपाङ्ग र बेपत्ता सङ्घर्षकर्ताहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदानको सम्मान गरिएको छ। साथै, मुलुकमा बाह्य हस्तक्षेप र अस्थिरता फैलाउने प्रयासहरू भइरहेका उल्लेख गर्दै राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको रक्षा गर्न दृढतापूर्वक उभिने प्रतिबद्धता जनाइएको छ।
पार्टीले संघीयता, समानुपातिक तथा समावेशी सहभागितासहितको लोकतान्त्रिक प्रणाली सुदृढ गर्ने, स्थापित व्यवस्थाविरुद्धका गतिविधिलाई परास्त गर्ने र समाजवादी लोकतन्त्रको विकासमा अग्रसर हुने अठोट व्यक्त गरेको छ। संविधानलाई नेपाली जनताको उपलब्धि भन्दै त्यसको संरक्षण र आवश्यक परिमार्जन संवैधानिक प्रक्रियाअनुसार मात्र गरिनुपर्ने उल्लेख गरिएको छ।
निर्वाचन प्रणाली सुधार, सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, सम्पत्ति छानबिन आयोग गठन तथा शक्ति पृथकीकरणको सिद्धान्तअनुसार राज्य सञ्चालन गर्ने योजना पनि अपिलमा समेटिएको छ। साथै, जातीय, लैङ्गिक, सामाजिक तथा सांस्कृतिक विभेद अन्त्य गर्दै छाउपडी र डाइनी–बोक्सी जस्ता कुरीति उन्मूलनमा सक्रियता देखाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
आर्थिक क्षेत्रमा उत्पादन, कृषि, उद्योग, ऊर्जा, व्यापार, पर्यटन र रोजगारी वृद्धि गर्ने, आयात निर्भरता घटाई आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने तथा प्रगतिशील कर प्रणाली लागू गर्ने योजना प्रस्तुत गरिएको छ। गरिबी न्यूनीकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापन र दिगो विकासमा विशेष ध्यान दिने पनि पार्टीले जनाएको छ।
परराष्ट्र नीतिमा राष्ट्रिय हितलाई सर्वोपरि राख्ने, असमान सन्धि–सम्झौता पुनरावलोकन गर्ने तथा अतिक्रमित भूमि फिर्ता गर्ने नीति लिइने उल्लेख छ।
अपिलको अन्त्यमा पार्टीले विगतका अनुभव र संघर्षको आधारमा मुलुकको अवस्था सुधार्ने जिम्मेवारी आफ्नो काँधमा रहेको उल्लेख गर्दै भनिएको छ, “व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्नेछौँ। विगतका कमी–कमजोरी सच्याउँदै अघि बढ्नेछौं।”


