काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा सहभागी सांसदहरुले मुलुकको विभिन्न समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको विशेष समयमा बौल्दै उहाँहरुले नयाँ नक्साअनुसार नेपालको भूमि फिर्ता गर्न सबै एकजुट भएर पहल गर्नुपर्ने सुझावसमेत दिनुभयो ।
सो अवसरमा नेपाली कांग्रेसका पुष्पा भूषालले सरकारबाट राष्ट्रियता देखाउने र चुच्चे नक्सा हराउने काम भएको भन्दै हालै वितरण गरिएका मान, पदवी र विभूषणमा समेत सो नक्सा नहुनु दुःखद् रहेको बताउनुभयो । उहाँले संसद्बाट पारित चुच्चे नक्सालाई सरकारले पाठ्यक्रममा राख्न रोकेको भन्ने विषयका सम्बन्धमा जवाफ माग गर्नुभयो । उहाँले एमसिसीलाई सरकारले प्रक्रियाअनुसार संसद्मा टेबल गर्नुपर्ने समेत माग गर्नुभयो ।
जनता सामाजवादी पार्टी नेपालका प्रदीप यादवले नागरिकता पाउने प्रत्येक नागरिकको अधिकार र राज्यले प्रदान गर्नुपर्ने राज्यको दायित्व पनि हो तर अहिले नागरिकतासम्बन्धी नयाँ कानून लामो समयदेखि संसद्मा विचाराधीन हुँदा जनताले समस्या भोग्नुपरेको धारणा व्यक्त गर्नुभयो । उहाँले उक्त विधेयकमा रहेको वैबाहिक अङ्गिकृतसम्बन्धी नागरिकताको व्यवस्था पनि विवादास्पद रहेको बताउँदै त्यसमा रहेको सात वर्षको अवधि हटाउन माग गर्नुभयो ।
नेकपा ९एमाले० का नरबहादुर धामीले वर्तमान सरकारले ढिलै भए पनि पहलकदमी गरेर नेपालको गुमेको भूमिलाई नक्सामा समावेश गरेको र सरकारले पुनःनिर्माणमा सन्तोषजनक रुपमा काम गरेको बताउनुभयो । उहाँले सरकारले चीनसँग पारवाहन सन्धि गरेको, देशका विभिन्न स्थानमा नयाँ सडकहरुको निर्माणको शिलान्यास गरेकोलगायत महत्वपूर्ण काम भएको उल्लेख गर्नुभयो । नेकपा (एमाले)का सांसद नवराज सिलवालले संसद्मा बौद्धिक बहस हुनुपर्ने तर टिकाटिप्पणी मात्र बढी हुँदा संसदीय मर्यादामा चोट पुग्ने बताउनुभयो । सरकारले गरेका राम्रा कामको कन्जुस्याई नगरी प्रशंसा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।