Saturday, November 7, 2026
Homeसामाचारप्रतिनिधिसभा चुनाव–२०८२का लागि सशस्त्र प्रहरीको नयाँ परिचालन नीति सार्वजनिक

प्रतिनिधिसभा चुनाव–२०८२का लागि सशस्त्र प्रहरीको नयाँ परिचालन नीति सार्वजनिक

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ सम्पन्न गराउन नयाँ परिचालन नीति सार्वजनिक गरेको छ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बलका सूचना अधिकारी एवं प्रवक्ता डीआईजी मनिष थापाले निर्वाचन सुरक्षाका लागि तयार पारिएको परिचालन नीति सार्वजनिक गर्दै यसको मुख्य प्रावधानबारे जानकारी दिए।

नीतिअनुसार सशस्त्र प्रहरी बल—

सबै निर्वाचन क्षेत्रमा तोकिएको जिम्मेवारीअनुसार परिचालन हुनेछ।

निर्वाचन सुरक्षाको दोस्रो घेरामा रही अन्य सुरक्षानिकायसँग समन्वयात्मक रूपमा खटिनेछ।

निर्वाचन सुरक्षा अनुशिक्षण तालिमका लागि नयाँ पाठ्यक्रम तयार गरी सबै सशस्त्र प्रहरी जनशक्तिलाई तालिम दिइनेछ।

निर्वाचन आचारसंहिताको पालना गराउन सहयोगी भूमिका निभाइनेछ।

प्रदेश तथा जिल्लागत नक्सा तयार गरी महत्वपूर्ण स्थानहरू चिनो लगाएर प्रभावकारी रूपमा सुरक्षाकर्मी परिचालन गरिनेछ।

डीआईजी थापाका अनुसार निर्वाचनको एक महिना अघि नै आवश्यक बन्दोबस्ती, सामग्री र सवारी साधनसहित सशस्त्र प्रहरी बल परिचालनमा रहनेछ।
त्यस्तै क्युआरटी (QRT) का जनशक्तिलाई निर्वाचनको एक दिनअघि देखि एक दिनपछि सम्म हातहतियार तथा आवश्यक उपकरणसहित आफ्ना जिम्मेवारी क्षेत्रका रणनीतिक स्थानमा तैनाथ गरिनेछ।

पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बलले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व संकलनमा सहयोग तथा विपद् व्यवस्थापनसम्बन्धी हालसम्मका काम–कारवाहीबारे पनि जानकारी गराएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका