काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा विपक्षी श्रम संस्कृति पार्टीले संसद्भित्रै पर्चा प्रदर्शन गर्दै सरकारविरुद्ध विरोध जनाएको छ।
बैठक सुरु भएलगत्तै पार्टीका सांसदहरू संसद्को वेलमा पुगेर सभामुख डोलप्रसाद (डीपी) अर्यालतर्फ फर्किँदै नारासहितका पर्चा प्रदर्शन गरेका हुन्।
सांसदहरूले ‘प्रधानमन्त्री संसद्प्रति जवाफदेही बन्नुपर्छ’, ‘प्रश्नबाट भाग्न पाइँदैन’ र ‘जनमतको सम्मान गर’ लगायतका सन्देश लेखिएका पर्चा देखाउँदै विरोध जनाएका थिए।
सभामुखको आसनअगाडि पुगेर प्रदर्शन भएपछि सभामुख अर्यालले सांसदहरूलाई संसदीय मर्यादा कायम राख्न आग्रह गरेका थिए। उनले विरोध गर्न पाइने भए पनि संसद्को गरिमा र नियमभित्र रहेर अभिव्यक्ति दिनुपर्ने बताए।
सभामुख अर्यालले सांसदहरूलाई मर्यादित ढंगले विरोध गर्न निर्देशन दिएपछि श्रम संस्कृति पार्टीका सांसदहरू वेलबाट आफ्नो स्थानमा फर्किएका थिए। त्यसपछि उनीहरूले शरीरमा विरोधका पोस्टर टाँसेर बैठकमा सहभागिता जनाएका छन्।