काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले मानव जातिले भोगिरहेको संकटको समाधान क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र गर्न सक्ने दाबी गरेका छन्।
रूसी क्रान्तिका नेता भ्लादिमिर इलिच लेनिनको जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो विचार व्यक्त गरेका हुन्।
प्रचण्डले सन्देशमा भनेका छन्, “महान् लेनिनले मानव सभ्यताको इतिहासमै पहिलो पटक श्रमजीवी वर्गको नेतृत्वमा समाजवादी राज्यको स्थापना गरेर शोषणमुक्त र न्यायपूर्ण समाज सम्भव छ भन्ने प्रमाणित गर्नुभयो। आजको विश्वमा पुँजीवादले फेरि असमानता, युद्ध, बेरोजगारी, सांस्कृतिक क्षय र वातावरणीय संकट निम्त्याइरहेका सन्दर्भमा लेनिनको विचार झन् सान्दर्भिक बनेको छ। मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छ भन्ने कुरा पुनः पुष्टि भइरहेको छ।”
उनले सन्देशमा नेपालमा विसं २००६ साल (१९४९ अप्रिल २२) मा कम्युनिस्ट पार्टीको स्थापना सामन्तवाद र साम्राज्यवादविरुद्ध जनवादी क्रान्ति हुँदै समाजवाद र साम्यवाद स्थापनाको लक्ष्यसहित भएको पनि उल्लेख गरेका छन्।
“कम्युनिस्ट आन्दोलनको सुरुआतसँगै समाजको पीँधमा रहेका जाति, वर्ग र समुदायका मुद्दाहरू मुखरित भएका छन्। उत्पीडित जनताको संघर्ष, त्याग र बलिदानका कारण हामी आज समावेशी, धर्मनिरपेक्ष, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भएका छौं,” उनले भनेका छन्।
प्रचण्डले अहिले केही प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूले जनताको उपलब्धि खोस्ने दुस्साहस गरिरहेको उल्लेख गर्दै भनेका छन्, “संघर्षको जगमा प्राप्त उपलब्धिहरू नेपाली जनताको युगौँदेखिको सपना हो। यसको रक्षा र थप विकासमार्फत मात्रै समाजवादतर्फको यात्रामा अघि बढ्न सकिन्छ।”