गण्डकी । ‘झिसमिसेमै नपुगे पुनहिलको यात्रा अधुरो हुन्छ।’ — यो भनाइ अहिले पनि घोरेपानीमा रात बिताउने हरेक आगन्तुकका मुखमा सुनिन्छ। कारण, पुनहिलको सूर्योदय दृश्य नै यहाँको मुख्य आकर्षण हो।
पूर्वमा लाली फिँजिँदै जाँदा पुनहिल वरिपरि हजारौं पर्यटकले भीड जमाउँछन्। चराहरूको चिरबिरसँगै जब हिउँचुचुरोमा घामको पहिलो किरण पर्छ, त्यो दृश्यले हरेकलाई मोहित बनाउँछ। विदेशी पर्यटक आफ्नो देशको झण्डा ओढेर तस्बिर खिचिरहेका हुन्छन् भने नेपालीहरू चन्द्र–सूर्य अंकित झण्डासहित गर्वपूर्वक पोज दिन्छन्।
तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्छ। अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने यो गन्तव्य पोखरादेखि नजिकै भएकाले देशी–विदेशी दुवै पर्यटकको रोजाइमा पर्छ।
शरद र वसन्त ऋतु पुनहिल भ्रमणका लागि उपयुक्त मानिन्छ। चैत–वैशाखमा लालीगुराँसले राताम्मे देखिने यो क्षेत्र हिउँदमा सेताम्मे हिउँले ढाकिन्छ। अहिले चाडपर्व र खुला मौसमका कारण पुनहिलमा पर्यटकको चहलपहल बढेको छ।
पर्यटक पथप्रदर्शक दिवस गुरुङका अनुसार, तीनदेखि चार दिनमा घोरेपानी–पुनहिलको पदयात्रा गर्न सकिन्छ। “कम खर्चमा छोटो अवधिको पदयात्राका लागि पुनहिल उत्कृष्ट गन्तव्य हो,” उनले भने। हाल म्याग्दी र कास्की दुवैतर्फबाट सडक पुगेकाले पहुँच अझ सहज बनेको छ।
घोरेपानीका व्यवसायी जुली पुनका अनुसार अहिले दैनिक करिब दुई सय विदेशी र बढ्दो संख्यामा आन्तरिक पर्यटक पुनहिल पुग्छन्। “मुख्य सिजनमा दिनमै चार–पाँच सयजना विदेशी आउने गर्छन्,” उनले भनिन्, “सूर्योदय, सूर्यास्त र हिमशृङ्खलाको पानोरमिक दृश्य यहाँको मुख्य आकर्षण हो।”
पछिल्ला वर्षमा भने ‘जेनजी’ आन्दोलन र प्रतिकूल मौसमका कारण विदेशी आगमन केही घटेको बताइएको छ। पुनहिल प्रवेश टिकट कक्षका अमृत पुनका अनुसार हाल दैनिक करिब दुई सय विदेशी पर्यटक प्रवेश गर्छन्। विदेशीले प्रतिव्यक्ति रु १५० र नेपालीले रु ५० प्रवेश शुल्क तिर्नुपर्छ।
अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनका अनुसार पुनहिलबाट लमजुङदेखि गुर्जा हिमालसम्मका हिमशृङ्खला एकैसाथ देख्न सकिन्छ। “यो एकै ठाउँबाट विश्वका दश अग्ला हिमालमध्येका अन्नपूर्ण, धवलागिरि र मनास्लु हेर्न सकिने दुर्लभ स्थान हो,” उनले बताए।
पहिले ‘लुङटुङ डाँडा’का रूपमा चिनिने यो ठाउँलाई भारतीय सेनाबाट अवकाशप्राप्त स्व. मेजर टेकबहादुर पुनले ‘पुनहिल’ नाम दिएका थिए। अहिले उनको स्मृतिमा त्यहाँ भ्यू टावर बनाइएको छ।
घोरेपानीमा हाल २३ वटा होटल छन्, जसले दैनिक एक हजारभन्दा बढी पर्यटकलाई बस्ने व्यवस्था गर्न सक्छन्। अधिकांश होटलका कोठाबाटै हिमालको दृश्य देखिनु पुनहिलको अर्को विशेषता हो।
पदयात्रा गर्न चाहनेका लागि नयाँपुल–उल्लेरी–घोरेपानी मार्ग सबैभन्दा लोकप्रिय छ। साथै म्याग्दीको पोखरेबगर हुँदै भुरुङ तातोपानी वा मोहरे–कोखेडाँडा हुँदै पनि पुग्न सकिन्छ।
अन्नपूर्ण क्षेत्रका पदमार्ग, हिमाली जनजीवन र जैविक विविधताले पुनहिललाई विश्व पर्यटन नक्सामा विशेष स्थान दिलाएको छ। प्रत्येक आगन्तुकका लागि पुनहिल केवल दृश्य होइन, एक अनुभव हो — जहाँ प्रकृतिले हरेक बिहान सुनको उज्यालोमा मुस्कान भर्छ।


