Wednesday, May 14, 2025
Homeमनोरन्जनप्रकाश सपुतको डेब्यु निर्देशनमा बनेको ‘वसन्त’को ट्रेलर ट्रेन्डिङमा, दर्शकबाट उत्कृष्ट प्रतिक्रिया

प्रकाश सपुतको डेब्यु निर्देशनमा बनेको ‘वसन्त’को ट्रेलर ट्रेन्डिङमा, दर्शकबाट उत्कृष्ट प्रतिक्रिया

काठमाडौँ: गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यु निर्देशनमा बनेको सिनेमा ‘वसन्त’को ट्रेलर एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो। सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै यसको हाइप पनि बढेको छ। हालसम्म ट्रेलरलाई ४ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्।

सार्वजनिक ट्रेलरले दर्शकको मन जितिरहेको कमेन्टबक्समा प्राप्त प्रतिक्रियाबाट बुझ्न सकिन्छ। अधिकांशले सिनेमाले नेपाली समाजको यथार्थ चित्रण गरेको प्रतिक्रिया दिएका छन्। ट्रेलर सार्वजनिक भएपछि युट्युबको ट्रेन्डिङमा समेत उक्लिएको थियो। यो समाचार तयार पार्दासम्म ‘वसन्त’को ट्रेलर युट्युबको मुभिज सेक्सन अन्तर्गत ४ नम्बर ट्रेन्डिङमा छ।

सार्वजनिक ट्रेलरले दर्शकको राम्रो साथ पाइरहेकाले ट्रेन्डिङको शीर्ष स्थानतर्फ विस्तारै पाइला बढाउँदै गएको छ। हालसम्म सिनेमाको ट्रेलरले ४ लाख ७ हजार भ्युजसहित २३ हजार लाइक र तीन हजार ४ सयभन्दा बढी प्रतिक्रिया प्राप्त गरेको छ। ट्रेलर हेरेका अधिकांश दर्शक सिनेमा हेर्न व्यग्र प्रतिक्षामा रहेको प्रतिक्रियाबाट बुझिन्छ।

सिनेमाको ट्रेलरको कमेन्टबक्समा अमृत परियारले लेखेका छन्, ‘मलाई लाग्छ, यो सिनेमाले मानिसले मानिसलाई हेर्ने नजरप्रति केही हदसम्म परिवर्तन गर्न सहयोग गर्नेछ। शुभकामना सम्पूर्ण टिमलाई।’

अर्का एक व्यक्ति सन्देश विकले लेखेका छन्, ‘एउटा सिनेमामा यति धेरै कथा समेटिएको रहेछ! यो ट्रेलर हेर्दा गूजबम्प्स आयो। धेरै शुभकामना प्रकाश दाजु।’

यस्तै, अर्का कमेन्टकर्त्ता राम प्रसादले लेखेका छन्, ‘एक-एक डाइलगमा एउटा कारण लुकेको छ। हलसम्म तान्ने नै भयो। दिमाग नै हल्लाउँछ त! बेस्ट अफ लक ‘वसन्त’ टिम, धेरै बधाई छ। यसपटक फेरि नयाँ अन्दाजको सिनेमा हेर्न पाइने भयो।’

फ्यान मदन बराइली लेख्छन्, ‘साँच्चिकै समाज सुधार हुनुपर्छ भन्ने सोच राख्ने कुनै पनि जातका मानिसले यो सिनेमा अवश्य हेर्नेछ। म पनि परिवारसँग गएर हेर्ने हो। सिनेमा गजब बनेको जस्तो लाग्यो। सम्पूर्ण टिमलाई अग्रिम शुभकामना।’

सिनेमाको ट्रेलरको कमेन्टबक्समा यस्तै तीन हजारभन्दा बढी प्रतिक्रियाहरू देख्न सकिन्छ। दर्शकहरूले सिनेमाका मुख्य कलाकार तथा डेब्यु निर्देशक प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्काको पनि प्रशंसा गरेका छन्। यसैले पनि ‘वसन्त’ यस वर्षकै प्रतिक्षित सिनेमा मध्ये एक हो भन्नेमा दुईमत देखिँदैन।

सिनेमामा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिवान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ।

‘गलबन्दी प्रोडक्सन’को प्रस्तुति रहेको यो सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन्। सिनेमाले विपन्न विश्वकर्मा समुदायको छोराले लेखक बन्ने सपनाका लागि गरेको संघर्षको कथा बयान गर्छ।

सिनेमाका निर्माताहरूमा मोहन विश्वकर्मा र बिन्दु बोहोरा रहेका छन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं, र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो। सिनेमाका छायाँकार सुसन प्रजापति हुन्। काठमाडौं उपत्यकामा DCN र मोफसलमा FD Company ले सिनेमालाई वितरण गर्नेछन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका