काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्वअर्थमन्त्री डा. रामशरण महतविरुद्धको मुद्दा तत्काल मुल्तबीमा राख्न विशेष अदालतले अस्वीकार गरेको छ।
डा. महतकी पत्नी रोशना महतले आफ्ना पति गम्भीर मानसिक रोग **‘फ्रन्टोटेम्पोरल डिमेन्सिया’**बाट पीडित भई शारीरिक तथा मानसिक रूपमा अशक्त भएको उल्लेख गर्दै मुद्दा स्थगित गर्न अदालतमा निवेदन दिएकी थिइन्।
मंगलबार विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उक्त निवेदनमाथि सुनुवाइ गर्दै हालको अवस्थामा मुद्दा मुल्तबीमा राख्न नपर्ने आदेश दिएको हो।
अदालतले आदेशमा डा. महतको स्वास्थ्य अवस्था गम्भीर रहेको विषयलाई अस्वीकार नगरे पनि, उनी अदालतमा उपस्थित भएपछि त्यसबेलाको स्वास्थ्य अवस्थाका आधारमा आवश्यक कानुनी आदेश जारी गर्न सकिने उल्लेख गरेको छ। निवेदनका आधारमा मात्र मुद्दालाई दीर्घकालीन रूपमा स्थगित गर्न नमिल्ने अदालतको निष्कर्ष छ।
रोशना महतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२८ अनुसार मुद्दा मुल्तबी राख्न माग गर्दै नेपाल मेडिकल बोर्डको स्वास्थ्य प्रतिवेदन पनि पेस गरेकी थिइन्। प्रतिवेदनमा डा. महत स्मरणशक्ति गुम्ने, मानिस चिन्न नसक्ने तथा बयान दिन सक्षम नरहेको उल्लेख गरिएको थियो।
सुनुवाइका क्रममा डा. महतका तर्फबाट वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, ललितबहादुर बस्नेत र अधिवक्ता प्रदीपकुमार पोखरेलले बहस गरेका थिए भने सरकारका तर्फबाट उपन्यायाधिवक्ता भीमसेन काफ्लेले बहस गरेका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको दाबी गर्दै डा. महतसहित पाँच पूर्वमन्त्री, १० पूर्वसचिव, अन्य पदाधिकारी तथा एक कम्पनीसमेत गरी ५५ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विशेष अदालतको आदेशसँगै अब डा. महतलाई अदालतमा उपस्थित गराइनेछ। त्यसपछि उनको स्वास्थ्य अवस्थाको प्रत्यक्ष मूल्याङ्कनका आधारमा आगामी कानुनी प्रक्रिया अघि बढाइने अदालतले जनाएको छ।


