छेन्दु (चीन): पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक चीनको सिचुवान प्रान्तको छेन्दुमा व्यावसायिक चार्टर उडान सम्पन्न भएको छ। विमानस्थल उद्घाटन भएको दुई वर्षपछि मङ्गलबार पोखराबाट छेन्दुका लागि पहिलो अन्तर्राष्ट्रिय उडान सफलतापूर्वक सञ्चालन गरिएको हो।
यो ऐतिहासिक उडान पोखरा पर्यटन परिषद्को नेतृत्वमा निजी पर्यटन व्यवसायीहरूको पहल र पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एयरलाइन्स तथा नेपालस्थित चाइनिज एसोसिएसनको सहकार्यमा सम्पन्न भएको हो।
पहिलो अन्तर्राष्ट्रिय उडानको प्रत्यक्ष साक्षी बन्न पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष–२०२५ का कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईलगायत १२६ सदस्यीय टोली छेन्दु पुगेको छ। टोलीले छेन्दुमा पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ।
छेन्दु विमानस्थलमा नेपाली महावाणिज्यदूत सुरेश राउत, सिचुवान प्रान्तका उच्च अधिकारीहरू तथा सिचुवान एयरलाइन्सका प्रतिनिधिहरूले पोखरेली टोलीलाई भव्य स्वागत गरेका थिए।
महानगर प्रमुख आचार्यका अनुसार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरी १ मा उद्घाटन भए पनि दुई वर्षसम्म अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन सकेको थिएन। पोखरा महानगरपालिका र पर्यटन व्यवसायीहरूको निरन्तर प्रयासपछि पहिलो व्यावसायिक चार्टर उडान सम्भव भएको हो।
चिनियाँ राजदूतावासको सहयोगमा दुबै देशका पर्यटन व्यवसायीबीच ‘बिटुबी’ (B2B) कार्यक्रमबारे छलफल भइरहेको जानकारी दिँदै उहाँले पोखरामा थप पर्यटक भित्र्याउने योजनासहित थप अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गर्न पहल भइरहेको बताए। छेन्दुबाट १,२५० पर्यटक विभिन्न उडानमार्फत पोखरा आउने तय भइसकेको छ, भने पोखराबाट पनि पर्यटक पठाउने योजनामा महानगरपालिका लागेको छ।


