Saturday, June 27, 2026
Homeसामाचारपोखरा र चीनका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी

पोखरा र चीनका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी

छन्दु (चीन): पोखरा र चीनको सिचुवान प्रान्तको छन्दु सहरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी (बिटुबी) तथा ‘सेल्स मिसन’ कार्यक्रम सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्डको आयोजनामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चार्टर्ड उडानमार्फत छन्दु पुगेका पर्यटन व्यवसायी र छन्दुका पर्यटन व्यवसायीहरूबीच छलफल भएको हो।

पोखरा पर्यटन परिषद् र छन्दुस्थित महावाणिज्यदूतावासको सहकार्यमा सम्पन्न कार्यक्रममा दुवै देशका पर्यटन व्यवसायीहरूले सिचुवान एयरलायन्सको उडान नियमित गरिनुपर्नेमा जोड दिँदै पर्यटकीय साझेदारीलाई सशक्त बनाउन प्रतिबद्धता जनाए। छन्दुका पर्यटन व्यवसायीहरूले पोखराको प्राकृतिक सुन्दरताको प्रशंसा गर्दै चिनियाँ पर्यटक लक्षित पूर्वाधार विस्तारमा ध्यान दिन आग्रह गरे।

पोखरा–छन्दु चार्टर्ड उडानको ऐतिहासिक महत्त्व

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मित्रराष्ट्र चीनको छन्दुसम्म पहिलो व्यावसायिक चार्टर्ड उडान सुरु भएकोमा उत्साह व्यक्त गरे। नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रूपमा प्रगाढ रहेको उल्लेख गर्दै उनले भृकुटी, स्रङचङ्ग गम्पो र अरनिकोको समयदेखि नै दुई देशबीच आपसी सहकार्य रहेको बताए।

नेपाल भ्रमण वर्ष २०२५ को घोषणासँगै पोखरा महानगरपालिकाले यस वर्षलाई ‘पोखरा भ्रमण वर्ष’ का रूपमा मनाउने निर्णय गरेको जानकारी गराउँदै उनले यस अवसरलाई अझ विशेष बनाउन पहल भइरहेको बताए।

सिचुवान प्रदेशका परराष्ट्र विभागका उपमहानिर्देशक लिउ मिनले सिचुवान एयरलायन्सको चार्टर्ड उडानलाई नियमित गराउने विश्वास व्यक्त गरे। दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ गर्न निरन्तर उडान सञ्चालन गर्नु महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

पर्यटकीय सहकार्यलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा-छन्दु उडानले पर्यटकीय साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने बताए। यो उडानलाई नियमित गराउन दुवै पक्षबीच निरन्तर समन्वय आवश्यक रहेको उनको भनाइ थियो।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले प्रकृति, संस्कृति र साहसिक पर्यटनको केन्द्र पोखरा चिनियाँ पर्यटकहरूका लागि आकर्षक गन्तव्य रहेको बताए। पोखरामा चिनियाँ पर्यटकहरूलाई लक्षित गर्दै पूर्वाधार विस्तार तथा विशेष छुटका योजना सार्वजनिक गरिसकिएको उनले जानकारी दिए।

छन्दुस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत सुरेश राउतले पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य रहेको उल्लेख गर्दै पोखरा-छन्दु उडानलाई नियमित गराउन महावाणिज्यदूतावासको तर्फबाट आवश्यक पहल गरिने बताए।

पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले हालैका वर्षहरूमा पोखरामा चिनियाँ पर्यटक लक्षित पूर्वाधारहरू विस्तार भइरहेको उल्लेख गर्दै आगामी दिनमा चिनियाँ पर्यटकहरूको आगमन उल्लेखनीय रूपमा वृद्धि हुने विश्वास व्यक्त गरे।

सिचुवान प्रदेश विश्वप्रसिद्ध चिया, जाइन्ट पाण्डा र ऐतिहासिक बौद्ध धरोहरका कारण विश्वभरका पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ। उक्त चार्टर्ड उडानले नेपाली पर्यटकलाई सिचुवानको समृद्ध संस्कृति र प्राकृतिक सुन्दरता अनुभव गर्न सहज बनाउने विश्वास गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका