चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन राजधानीबाहिरै सिलिन्डर भरेर पठाउन थालिएको छ।
ग्यास बोकेका बुलेट वैकल्पिक मार्ग हुँदै समेत काठमाडौं पुग्न नसकेपछि विभिन्न ग्यास उद्योगले राजधानीबाहिरका उद्योगसँग समन्वय गरी सिलिन्डर भरेर ट्रकमार्फत उपत्यका पठाउन थालेका हुन्।
साल्ट ट्रेडिङ कर्पोरेशनको ‘एसटिसी ग्यास’ वीरगञ्जस्थित मनोज ग्यासमा भरेर काठमाडौं पठाउन थालिएको छ। बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार मंगलबार चितवनको बाबा ग्यासले श्री ग्यासका एक हजार ५०० सिलिन्डर भरेर पठाएको छ।
श्री ग्यासको प्लान्ट धादिङको नौबिसेमा रहेको छ। त्यस्तै, चितवनस्थित साइबाबा ग्यासले आफ्ना ९०० सिलिन्डर काठमाडौं पठाएको छ। नेपाल ग्यास गण्डकीले बालाजुस्थित नेपाल ग्यासका एक हजार २०० सिलिन्डर भरेर पठाएको जनाएको छ।
गैँडाकोटको जानकी ग्यासमा नौबिसेको श्रीराम ग्यास, हेटौँडाको साहारा ग्यासमा काठमाडौंको एभरेष्ट र सुगम ग्यास भरेर उपत्यका पठाइएको छ। त्यस्तै, बनेपाको सगरमाथा ग्यासले परासीस्थित चण्डी ग्यासमा तथा बनेपाका लोकप्रिय, सुपर, तारा लगायतका ग्यास उद्योगले राजधानीबाहिरका विभिन्न उद्योगमा सिलिन्डर भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाउन थालेका छन्।
नेपाल एलपी ग्यास उद्योग संघका सदस्यसमेत रहेका कालाखेतीले भारतबाट नेपाल आउने ग्यासको आपूर्तिमा कमी नआएको बताए। बुलेट काठमाडौं पुर्याउन नसकेका उद्योगले अन्य उद्योगमा ग्यास भरेर ट्रकमार्फत पठाइरहेकाले तत्काल ग्यास अभाव हुने अवस्था नरहेको उनको भनाइ छ।
उनका अनुसार गत महिना भारतबाट ६० हजार २०० मेट्रिक टन ग्यास नेपाल भित्रिएको थियो, जुन हालसम्मकै उच्च परिमाणमध्ये एक हो। सोही अनुपातमा ग्यास आयात भइरहेकोले आपूर्तिमा समस्या नहुने उनले बताए।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानीबाहिरका उद्योगमा ग्यास भरेर उपत्यका पठाउन अनुमति दिएको छ।
उपत्यका र आसपासका जिल्लामा रहेका १६ ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का उद्योगसँग समन्वय गरी सिलिन्डर भरेर काठमाडौं पठाउन थालेका छन्।
अध्यक्ष चन्दका अनुसार देशको कुल एलपी ग्यास खपतको करिब ४० प्रतिशत उपत्यका र आसपासका जिल्लामा हुने गरेको छ।


