काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको दिव्योपदेश आज पनि राष्ट्रिय एकताको प्रवर्द्धनका लागि महत्वपूर्ण मार्गदर्शन बन्न सक्ने बताएका छन्।
पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले दिव्योपदेशबाट सवल अर्थतन्त्र निर्माण, राष्ट्रप्रेमको विकास, छिमेकी राष्ट्रहरूसँग सन्तुलित कूटनीतिक सम्बन्ध, धर्म, संस्कृति र परम्पराको संरक्षण, जनकल्याण, राज्यको जिम्मेवारी, न्याय, सुशासन तथा राष्ट्रिय एकताको प्रवर्द्धनका लागि मार्गदर्शन लिन सकिने उल्लेख गरे।
उनले पृथ्वीनारायण शाहले नेपाल एकीकरणमार्फत राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचान स्थापना गरेको स्मरण गराउँदै उनका दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक र लोकप्रिय रहेको बताए।
राष्ट्रपति पौडेलले इतिहासका विभिन्न कालखण्डमा वीर पुर्खाहरूले एकीकरण अभियानलाई निरन्तरता दिएकै कारण आज नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्रका रूपमा स्थापित हुन सफल भएको उल्लेख गरे। सोही आधारमा नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रमा आधारित समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा संवैधानिक व्यवस्था गरिएको उनको भनाइ छ।
उनका अनुसार पृथ्वीनारायण शाहद्वारा सुरु गरिएको राष्ट्रिय एकीकरण अभियानले वर्तमान संविधान निर्माण र राज्य संरचनाको विकासका लागि ऐतिहासिक आधारभूमि तयार पारेको छ।


