Wednesday, August 12, 2026
Homeसामाचारपृथ्वीचोकको सडकबाट हटे लामो दूरीका बस, अब बसपार्कभित्रैबाट सेवा

पृथ्वीचोकको सडकबाट हटे लामो दूरीका बस, अब बसपार्कभित्रैबाट सेवा

कास्की । पोखराको पृथ्वीचोकमा वर्षौंदेखि सडक पेटी तथा फुटपाथबाट सञ्चालन हुँदै आएका लामो तथा छोटो दूरीका बस आजदेखि बसपार्कभित्रैबाट छुट्न थालेका छन्। सडक पेटीमा हुँदै आएको बस पार्किङ तथा यात्रु चढाउने–झार्ने कार्य हटाएर बसपार्कभित्रबाटै सेवा सञ्चालन गरिएको हो।

सडक पेटी र फुटपाथमा बस तथा अन्य सवारीसाधनको अव्यवस्थित पार्किङका कारण पृथ्वीचोकदेखि चाइनापुलसम्मको क्षेत्र लामो समयदेखि अस्तव्यस्त रहँदै आएको थियो। फुटपाथसमेत बस सञ्चालन तथा यात्रु चढाउने–झार्ने कार्यमा प्रयोग हुँदा पैदलयात्रुले समेत सास्ती खेप्दै आएका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजितकुमार देवकोटाले पोखरा महानगरपालिकाभित्र सञ्चालन हुने नगर बसबाहेक जिल्ला बाहिर जाने तथा लामो दूरीका सबै बस अब बसपार्कभित्रबाटै सञ्चालन हुने व्यवस्था गरिएको बताउनुभयो।

उहाँका अनुसार जिल्ला बाहिर जाने तथा लामो दूरीका बसले सडकमा रोकेर यात्रु पर्खने, चढाउने वा झार्ने गर्न पाउने छैनन्। यातायात व्यवसायीको सहयोगमा व्यवस्था कार्यान्वयनमा ल्याइएको र यसबाट पृथ्वीचोकको अव्यवस्था हट्नुका साथै ट्राफिक व्यवस्थापन सहज हुने उहाँको भनाइ छ।

बसपार्क अगाडि रहेका यातायात समितिका अव्यवस्थित टिकट काउन्टरसमेत हटाइने ट्राफिक प्रहरीले जनाएको छ। यसअघि पोखरा महानगरपालिकाले दुई वर्षअघि फुटपाथ तथा सडकबाट पार्किङ हटाएर बसपार्कभित्रैबाट बस सञ्चालन गर्ने प्रयास गरे पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको थिएन। अब भने नियमित अनुगमनमार्फत निर्णय कार्यान्वयन गरिने ट्राफिक प्रहरीले जनाएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा पृथ्वीराजमार्ग बस कम्पनी प्रालिका अध्यक्ष एनकुमार साइले व्यवस्थित पोखरा निर्माणमा यातायात व्यवसायीको पूर्ण सहयोग रहने बताउनुभयो।

उहाँले विगतमा बसपार्कभित्र पर्याप्त व्यवस्थापन नभएका कारण सडक पेटीबाटै बस सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अहिले बसपार्कभित्रको अवस्था केही सहज भएकाले त्यहीँबाट सेवा सञ्चालन गर्न व्यवसायी तयार रहेको बताउनुभयो।

“पोखरा पर्यटकीय राजधानी भएकाले यसलाई सुन्दर र व्यवस्थित बनाउन यातायात व्यवसायीको पनि जिम्मेवारी छ। हाम्रा चालक तथा कर्मचारीलाई बसपार्कभित्रैबाट यात्रु चढाउने र झार्ने व्यवस्था गर्न निर्देशन दिइसकेका छौँ,” उहाँले भन्नुभयो।

पोखरा महानगरपालिकाले दुई महिनाअघि बसपार्कभित्र रहेका केही व्यापारिक संरचना हटाएपछि बसपार्क क्षेत्र केही व्यवस्थित बनेको छ। सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा २०५ रोपनी जग्गा अधिग्रहण गरिए पनि हालसम्म व्यवस्थित बसपार्क निर्माण हुन सकेको छैन।

लामो समयदेखि बसपार्कको समस्या समाधान हुन नसक्दा पृथ्वीचोकको सडक तथा फुटपाथ नै अस्थायी बसपार्कका रूपमा प्रयोग हुँदै आएको थियो। पछिल्लो समय बसपार्कभित्रका अतिक्रमित संरचना हटाउने तथा व्यवस्थित बसपार्क निर्माणको प्रक्रिया अघि बढाइएकाले पृथ्वीचोकको ट्राफिक व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका