काठमाडौँ, ३० कात्तिक — नेपाल प्रहरीले नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ। नेपाल ट्रष्टका नाममा दर्ता भएको जग्गा भाडामा दिने क्रममा गैरकानुनी लाभ हासिल गरी राज्यलाई नोक्सानी पुर्याएको आरोपमा प्रहरीले कार्कीलाई आज पक्राउ गरेको हो। कार्की सो क्रममा ट्रष्टका तत्कालीन सचिव पनि थिए।
प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङबीच गरिएको करार सम्झौतामा सूचनामा उल्लेख भएकाभन्दा बढी जग्गा भाडामा दिएको विवरण भेटिएकाले कार्कीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
ब्यूरोका अनुसार तोकिएको कित्ताभन्दा बढी अर्को कित्ता थप गरी भाडामा दिने–लिने सम्झौता सञ्चालक समितिको उचित निर्णय तथा आधारबिना बदनियतपूर्वक गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सो जग्गा २०७४ जेठ १४ गते सम्झौता गरी भाडामा दिइएको थियो।
यस प्रकरणमा सिआइबीले यसअघि कात्तिक २१ गते नेपाल ट्रष्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पनि पक्राउ गरिसकेको छ।


