Thursday, December 11, 2025
Homeसामाचारपुनर्जीवित कृषि औजार कारखाना : ३२ महिनामा १६ थरिका औजार विकसित

पुनर्जीवित कृषि औजार कारखाना : ३२ महिनामा १६ थरिका औजार विकसित

वीरगञ्ज (पर्सा): राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जस्थित कृषि औजार कारखानाको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी लिएको ३२ महिनामा १६ प्रकारका कृषि औजारको अनुसन्धान तथा विकास गरेको छ।

कारखानाका प्रमुख तथा इञ्जिनियर रितेश देवले अहिलेसम्म साना–ठूला गरी १६ थरिका कृषि औजार अनुसन्धान तथा विकास गरिएको जानकारी दिनुभयो। “केन्द्रले नेपालका लागि आवश्यक पर्ने कृषि औजारहरू अनुसन्धान तथा विकास गर्दै आइरहेको छ,” उहाँले बताउनुभयो, “अहिलेसम्म १६ प्रकारका औजार तयार गरेका छौँ।”

कृषि औजारहरूमा पराल काट्ने, धान काट्ने (रिपर), धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने, खाल्डो खन्ने हाते औजार, आलु रोप्ने र गोड्ने मेसिन, साना ट्रयाक्टरमा जडान हुने कल्टिभेटर, हाते प्रेस मेसिन, प्लास्टिक ओछ्याउने उपकरण, केराको फाइबर निकाल्ने मेसिन, गोबर पेल्ने मेसिन, कोदो रोप्ने मेसिन, चाँप कटर, बञ्चरो, खुँडा र साना कुटो कोदालीलगायतका औजार समावेश छन्।

देवका अनुसार कारखाना अझै अनुसन्धान र विकासकै चरणमा रहेकाले ठूलो मात्रामा व्यावसायिक उत्पादन सुरु हुन सकेको छैन। यद्यपि केही सामान्य खालका औजार भने बिक्री वितरण भइरहेको छ। “कसैले आएर यहाँ उत्पादन भएका औजार किनेर लैजाने क्रम पनि चलिरहेको छ,” उहाँले बताउनुभयो।

कारखानाले केही समयअघि रु ५० लाख खर्चेर सिएनसी मेसिन ल्याएपछि औजार उत्पादनमा सहजता आएको छ। “सिएनसी मेसिनले नयाँ औजार बनाउने काम मात्र होइन, काम गर्ने प्रक्रियालाई पनि सहज बनाएको छ,” देवले जानकारी दिनुभयो।

हाल कृषि औजार कारखानामा ३६ जना कर्मचारी कार्यरत छन्। देवले राज्यले अनुसन्धान तथा विकासका लागि कारखानामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले तीनवटै तहका सरकारले बजेट निर्माणको पूर्वसन्ध्यामा कृषि औजार उत्पादनका लागि आवश्यक पर्ने फलामलगायत कच्चा पदार्थमा भन्सार छुटको व्यवस्था गरिदिन माग गर्नुभयो।

उहाँले भन्नुभयो, “तयारी औजारमा एक प्रतिशत मात्र भन्सार लाग्छ तर कच्चा पदार्थमा २० प्रतिशतसम्म भन्सार लाग्ने भएकाले स्वदेशी उत्पादन प्रतिस्पर्धी बनाउन कठिन भइरहेको छ।”

पुरानो गौरव, नयाँ प्रयास

तत्कालीन सोभियत सङ्घको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना गरिएको वीरगञ्जस्थित कृषि औजार कारखाना २०२४ साल फागुन २८ गतेदेखि सञ्चालनमा आएको थियो। सुरुमा स्वदेशमै मात्र नभई विदेशमा पनि कृषि औजार निर्यात गर्दै आएको कारखाना व्यवस्थापकीय कमजोरीका कारण २०५९ सालसम्म आइपुग्दा बन्द अवस्थामा पुगेको थियो।

हाल कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कारखानाको स्थलगत अवलोकन गरी आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले भन्नुभयो, “कारखानालाई व्यवसायिक उत्पादनतर्फ लैजानका लागि म पूर्ण सहयोग गर्न तयार छु।”

पुनर्जीवनको यात्रा

२०७९ भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले दुई दशकदेखि बन्द रहेको कृषि औजार कारखानाको व्यवस्थापन तथा सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई १० वर्षका लागि जिम्मा दिने निर्णय गरेसँगै पुनर्जीवनको यात्रा सुरु भएको हो।

२०७९ असोज ११ गते अर्थ मन्त्रालयका तत्कालीन सहसचिव रमेश केसी र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सम्झौता भए पनि केन्द्रले औपचारिक रूपमा २०७९ माघदेखि मात्र काम सुरु गरेको हो। पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले दयनीय अवस्थामा रहेको कारखानालाई पुनर्जीवित बनाउने प्रयास जारी राखेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका