Friday, May 8, 2026
Homeराजनीतिपार्टीविरुद्ध गतिविधि गरेको आरोपमा झापामा कांग्रेसका पाँच जनामाथि निष्कासन प्रक्रिया

पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा झापामा कांग्रेसका पाँच जनामाथि निष्कासन प्रक्रिया

झापा । नेपाली कांग्रेस झापाको जिल्ला कार्यसमितिले पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा पाँच जनामाथि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासनको प्रक्रिया अघि बढाएको छ।

जिल्ला कार्यसमितिका सदस्य ठमनाथ नेपाल (झापा) र मुना भट्टराई (बुद्धशान्ति) तथा क्षेत्रीय प्रतिनिधि शम्भु खड्का (कन्काई), टेकनारायण सङ्गगौला (कन्काई) र दिपेन्द्र थापा (गौरिगञ्ज) ले केही समयदेखि पार्टी हितविपरीत गतिविधि गरेको पाइएपछि यस्तो निर्णय गरिएको जनाइएको छ।

जिल्ला कार्यसमितिको फागुन २६ गते बसेको बैठकले प्रतिनिधिसभा निर्वाचन–२०८२ मा पार्टीले उठाएको उम्मेदवारको विरुद्धमा गतिविधि गर्दै विपक्षी उम्मेदवारको पक्षमा प्रचार–प्रसार गरेको निष्कर्ष निकालेको थियो। सोही आधारमा उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारबाही गर्न सिफारिस गरिएको हो।

नेपाली कांग्रेस झापा जिल्ला कार्यसमिति सचिव कृष्ण हुमागाईंले जारी गरेको विज्ञप्तिमा पार्टी अनुशासनविपरीत गतिविधि गर्नेहरूलाई कारबाही गरिएको उल्लेख गरिएको छ। साथै कारबाहीका लागि नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको जनाइएको छ।

जिल्ला कार्यसमितिले पार्टीको नीति, अनुशासन र निर्णयको पालना गर्न सबै सदस्यलाई आग्रह समेत गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका