Wednesday, April 22, 2026
Homeदेश र प्रदेशपाटनमा बेपत्ता सातै जना सकुशल भेटिए

पाटनमा बेपत्ता सातै जना सकुशल भेटिए

जाजरकोट : जाजरकोटको कुशे गाँउपालिकाको जलजला पाटन क्षेत्रमा हराइरहेका सातै जना सकुशल फेला परेका छन्। प्रहरी र स्थानिय बासिन्दाले बेपत्ताको सकुशल उद्धार गरेका हुन्।

घरपालुवा गाई, भैंसी, बाख्रा, भेडा लगायतका पशु चौपाया लिएर पाटन पुगेका कुशे गाँउपालिका -८ औलरिजा र वडा नम्बर ९ पैकका ११ जना मध्ये सात जना गत जेठ ३१ गतेदेखि सम्पर्कविहिन भएका थिए। जलजला लेकको एक खोचमा सातै जना गुटमुटिएर बसेका थिए। उद्धार गरिएकाहरु पाँच दिनदेखि खानेकुरा पानी समेत नखाएको र चिसोले गर्दा निकै कमजोर रहेको जिल्ला प्रहरी प्रमुख मधुकुमार थापाले बताए। उनीहरुलाई चाउचाउ, विस्कुट लगायतका खानेकुरा खुवाएर पाटनबाट तल घरतिर झार्ने काम भइरहेको थापाले बताए।

प्रहरीका अनुसार हावाहुरी सहितको पानी पर्न थालेपछि ११ मध्ये चार जना भागेर ज्यान जोगाएका छन् भने अन्य सात जना चार दिनदेखि सम्पर्क विहिन भएका थिए। जिल्ला प्रहरी प्रमुख थापाका अनुसार कुशे गाँउपालिका- ८ औलरिजाका डिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, भीमबहादुर खड्का,धनसरा खड्का र सोही गाँउपालिका वडा नम्बर ९ का कृष्ण रोकाय सकुशल फेला परेका हुन्। हराइरहेका २२ गाई, ५० बाख्रा र १० भैंसी भने अझै फेला पर्न सकेका छैनन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका