Sunday, November 8, 2026
Homeसामाचारपाँचथरमा एक वर्षमा लडेर २५ जनाको मृत्यु, ग्रामीण क्षेत्रमा बढी घटना

पाँचथरमा एक वर्षमा लडेर २५ जनाको मृत्यु, ग्रामीण क्षेत्रमा बढी घटना

पाँचथर, २७ साउन । आर्थिक वर्ष २०८१/८२ मा पाँचथरमा लडेर २५ जनाको मृत्यु भएको छ। भवितव्य ज्यान गुमाउने घटनामध्ये यो संख्या सबैभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) कौशलकुमार बुढाथोकीले जानकारी दिएका छन्।

विशेषतः ग्रामीण क्षेत्रमा रातको समयमा मेलापात, गाउँघर वा छरछिमेकबाट घर फर्किँदा, मादक पदार्थ सेवन गरेर हिँड्दा, घाँसदाउरा वा पशु चराउन जाँदा लडेर मृत्यु हुने घटना बढी देखिएको छ। उद्धार समयमै हुन नसक्दा मृत्यु हुनेको संख्या बढेको प्रहरीको भनाइ छ।

गत आवमा कारण नखुली १४ जनाको मृत्यु भएको छ। यसैगरी, अचानक बिरामी भएर र खोलाले बगाएर ६–६ जना, आगोले जलेर, अरिङ्गालले टोकेर र करेन्ट लागेर २–२ जना, चट्याङ लागेर, रुखले किचेर, सवारी दुर्घटनामा र पहिरोमा परेर १–१ जनाको मृत्यु भएको तथ्याङ्क छ।

प्रहरी कार्यालयका अनुसार गत वर्ष जिल्लामा २३२ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये भवितव्य ज्यानका ६२, आत्महत्याका ४८, अभद्र व्यवहारका २७, बैंकिङ कसुर र जबर्जस्ती करणीका १२–१२, ज्यान मार्ने उद्योगका १०, लागुऔषधसम्बन्धी र फुटकर ज्यानका ९–९, बाल यौन दुव्र्यवहारका ६, ज्यानसम्बन्धी र बहुविवाहका ५–५, सवारी ज्यान, चोरी र ठगीका ४–४ वटा मुद्दा रहेका छन्।

पछिल्ला चार आर्थिक वर्षमा मुद्दा दर्ता संख्या करिब स्थिर रहेको डिएसपी बुढाथोकीले बताए। आव २०७८/७९ मा २३५, २०७९/८० मा २३४, २०८०/८१ मा २३७ र २०८१/८२ मा २३२ वटा मुद्दा दर्ता भएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका