Saturday, November 7, 2026
Homeसामाचारपहिलो दूध दुहुने रियालिटी शो ‘दूध’ को उपाधि तारा प्रसाद पाठकलाई

पहिलो दूध दुहुने रियालिटी शो ‘दूध’ को उपाधि तारा प्रसाद पाठकलाई

काठमाडौं। नेपालमै पहिलो पटक पशुपालक किसानहरूबीच आयोजना गरिएको दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ को उपाधि तारा प्रसाद पाठकले जितेका छन्।

हरेक मङ्गलबार साँझ एपी वान टेलिभिजन, मेरो सेरोफेरो युट्युब च्यानल तथा सिनर्जी एफएममार्फत प्रसारण हुँदै आएको उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाका व्यावसायिक पशुपालकमध्ये दूध विविधीकरण गर्ने सहकारीमार्फत दूध बिक्री गर्ने २० जना किसानको सहभागिता रहेको थियो।

प्रतियोगितामा बासुदेव पौडेल दोस्रो, मथुरा महतो तेस्रो तथा धनमाया भण्डारी सान्त्वना विजेता घोषित भएका छन्।

विजेता पाठक विभिन्न पेशा त्यागेर पशुपालनमा लागेका किसान हुन्। दोस्रो भएका पौडेल अमेरिका जाने नाममा लाखौँ रुपैयाँ ठगिएपछि पुनः पशुपालन पेशामा फर्किएका थिए। तेस्रो स्थान हासिल गरेका महतो कुलत त्यागेर पशुपालनमा सक्रिय भएका हुन्। सान्त्वना विजेता ७० वर्षीया भण्डारी र उनको परिवारको मुख्य पेशा नै पशुपालन रहेको छ।

गाईका कल्चौँडासँग अभ्यस्त किसानलाई बजारमा पुग्ने दूधका ब्रान्ड एम्बेसडरका रूपमा स्थापित गर्ने तथा पशुपालन पेशालाई मर्यादित र सम्मानित बनाउने उद्देश्यले शो निर्माण गरिएको हो।

कार्यक्रमका निर्माता रविन सुवेदीका अनुसार किसानको दूध दुहुने सीप, पशुप्रतिको व्यवहार, आहार व्यवस्थापन, गोठको सरसफाइ तथा दूधको शुद्धता जस्ता पक्षको मूल्याङ्कनका आधारमा विजेता छनोट गरिएको हो।

दूधमा आत्मनिर्भर जिल्ला चितवन उन्नत गाई भित्र्याउने जिल्लासमेत हो। शोले मेहनती किसानको सम्मान गर्दै वर्तमान पशुपालन पेशाको यथार्थ अवस्थालाई उजागर गरेको छ। साथै, नयाँ पुस्ताले बुझ्ने शैलीमा पशुपालनमा लाग्दा हुने मेहनत र संघर्षका कथा रोचक ढङ्गले प्रस्तुत गरिएको थियो।

पहिलो संस्करणप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले नेपाल सरकारसँग सहकार्य गर्दै आगामी सिजनलाई थप जानकारीमूलक र बृहत् बनाउने योजना रहेको सुवेदीले बताए।

कार्यक्रम संयोजक गोविन्द न्यौपानेका अनुसार पशुपालनमार्फत धेरै किसानले आर्थिक उन्नति हासिल गरिरहेका सन्दर्भमा ‘किसानलाई आइडल बनाउने’ उद्देश्यसहित शो निर्माण गरिएको हो। कृषि कार्यक्रमहरू प्रायः एउटै ढाँचामा सीमित भइरहेका बेला विविधीकरण सम्भव छ भन्ने सन्देश दिन कार्यक्रम सफल भएको उनको भनाइ छ।

खेतीले मुख्य प्रायोजन गरेको उक्त कार्यक्रममा भरतपुर महानगरपालिका प्रवर्द्धकका रूपमा रहेको थियो। प्रतियोगिताका निर्णायकमा भरतपुर महानगरपालिकाका वरिष्ठ कृषि अर्थशास्त्री तेजेन्द्रप्रसाद पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक डा. शत्रुघन शाह, केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका उपाध्यक्ष भगिरथ तिमिल्सेना तथा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक अधिकृत डा. यज्ञराज पाण्डे रहेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका