काठमाडौँ । विद्युत् विकास विभागले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ । यी आयोजनाहरूको संयुक्त उत्पादन क्षमता २४१.५० मेगावाट रहेको विभागले जनाएको छ।
विभागका अनुसार, हालसम्म देशभर २६६ जलविद्युत् आयोजना निर्माण अनुमति प्राप्त गरिसकेका छन्, जसको कुल क्षमता १० हजार ८२५ मेगावाट बराबर छ।
चालु आवको असोज मसान्तसम्म विभागले निर्माण अनुमति दिएको आयोजनाहरूमा लापा खोला (४.७२ मेगावाट), लोअर बरुण (१३२ मेगावाट), म्याग्दी खोला बी (१२.५० मेगावाट), तल्लो लिखु क्यासकेड (६ मेगावाट), माथिल्लो मेलम्ची (४.९५ मेगावाट), सुपर सभा खोला (९.५५ मेगावाट), लोअर मेलम्ची खोला (४.९६ मेगावाट), अप्पर सेती–१ (१३ मेगावाट), होङ्गु खोला (२८.९० मेगावाट) र इन्दुवा खोला (२४.९२ मेगावाट) छन्।
यस्तै, हालसम्म विभागले १८५ आयोजना सर्वेक्षण अनुमति पाएका छन् भने ५९ आयोजना निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन्। यी आयोजनाहरूको संयुक्त क्षमता १० हजार ५३२ मेगावाट बराबर छ।
सौर्य ऊर्जातर्फ पनि विभागले प्रगति जनाएको छ। हालसम्म १२ सौर्य आयोजना निर्माण अनुमति पाएका छन्, जसको कुल क्षमता ८४ मेगावाट छ। थप ३ सौर्य आयोजनाले (१५ मेगावाट) निर्माण अनुमति पाउन आवेदन दिएका छन्।
तर, निर्माण अनुमति लिएर पनि काम अघि नबढाएका १५ आयोजनाको अनुमतिपत्र र आवश्यक प्रक्रिया पूरा नगरेका ११ आयोजनाको आवेदन विभागले खारेज गरेको छ। साथै, ११८ वटा आयोजनाको सर्वेक्षण अनुमतिपत्र पनि रद्द गरिएको विभागले जनाएको छ।


